काठमाडौँ- सुनसरीबाट प्रहरीले करिब २ करोड नक्कली नोट बरामद गरेको छ। भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा १ हजार दरका १ करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला पारेर बरामद गरेको हो।
सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका ४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको जानकारी दिए।
सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो। नक्कली नोटसँगै १ जना भारतीय नागरिक पनि पक्राउ परेको उनले बताए।
बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक रेग्मीले रकम बरामद भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए।


