काठमाडौँ- गोरखाको बारपाक सुलीकोट गाउँपालिका १ र २ वडा जोड्ने सडक कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको छ। सडक आयोजनका इन्जिनियर आस्था देवकोटले साढे १६ किलोमिटरमा १२ किलोमिटर कालोपत्रे र साढे २ सय मिटर ढलान गर्ने काम सकिएको जानकारी दिइन्।
‘साढे पाँच मिटर चौडाइका दरले कालोपत्रे भएको छ,’ उनले भनिन्, ‘केही उकालो, अप्ठ्यारो र घुम्ती बाटोमा साढे २ सय मिटर ढलान भएको छ।’ २०७२ सालमा ठेक्का सम्झौता भई काम अघि बढाए पनि ठेकेदारको ढिलासुस्तीका कारण सडक कालोपत्रे कामले गति लिन नसकेको इन्जिनियर देवकोटाको भनाइ छ।
निर्माण कम्पनीलाई ताकिता गरेपछि भने गत वर्षको फागुनबाट कामले गति लिन थालेको उनले जानकारी दिइन्। ६ पटक म्याद थपेपछि मात्र कालोपत्रे गर्ने कामले गति लिएको हो। घुमाउरो बाटोमा छ मिटरभन्दामाथि ढलान गरिएको छ भने साढे २ सय मिटर ढलान पनि सम्पन्न भएको भालुस्वाँरा सडक कार्यालय गोरखाले जनाएको छ।
यस सडकको जम्मा लागत तीन करोड ५४ लाख ६० हजार बजेटमा रसुवा इलाइट सूर्य जेबीसँग ठेक्का सम्झौता भएको थियो।


