काठमाडौँ- सरकारले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय गर्दै आएका युवा उद्यमीलाई पुरस्कारका लागि आवेदन माग गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचनामार्फत वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यमी बन्न सफल युवाको सम्मानका लागि आवेदन माग गरेको हो।
श्रम मन्त्रालयका अनुसार ‘विदेश काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६’ को व्यवस्थाबमोजिम हरेक वर्ष विदेशबाट फर्किएका सफल उद्यमी युवालाई पुरस्कृत गर्दै आएको छ।
यसका लागि वर्किङ भिसामा विदेशमा कम्तीमा एक वर्ष काम गरी फर्किएर व्यवसाय सञ्चालन गरेको एक वर्ष पूरा भएको र विगत छ वर्षभित्र श्रम मन्त्रालयबाट प्रदान गरिएको पुरस्कार प्राप्त नगरेको हुनुपर्ने मापदण्ड रहेको छ।
सम्मान तथा पुरस्कारका लागि फागुन १५ गतेभित्र आवेदन दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ।
आवेदनका साथमा नेपाली नागरिकताको प्रमाणपत्र, श्रम स्वीकृति लिएको निस्सा, भिसासहितको राहदानी, आयकर दर्ता प्रमाणपत्र र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा पेस गर्नुपर्ने छ। प्राप्त आवेदनमध्येबाट रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय साधन, स्रोत र प्रविधिको प्रयोग, उत्पादन निर्यात, सामाजिक दायित्व वहन, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यवस्थापनलगायतका आधारमा छनोट गरिने छ।
प्राप्त आवेदनमध्येबाट उत्कृष्ट उद्यमीलाई सम्मान गरिने श्रम मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आवेदकमध्ये एक जना सर्वोत्कृष्ट उद्यमीले एक लाख ५० हजार रुपियाँको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र अन्य सात जनाले ७५ हजार रुपियाँको उद्यमी राष्ट्रिय पुरस्कार पाउने छन्।


