हेमजा- ११औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवमा ४० टन आलु बिक्री भएको छ। प्रतिकिलो रु.३५ मा आलु किन्न स्याङजा, पर्वत, बाग्लुङ, म्याग्दी, तनहुँ लगायतका ठाउँबाट समेत ग्राहक आएका थिए।
हावापानीका कारण अन्य स्थानको भन्दा हेमजामा फलेको आलु स्वादिष्ट रहेको, विषादीको कम प्रयोग हुने भएको तथा छिटो छरितो पाक्ने हुनाले हेमजामा उत्पादित आलु ग्राहकको रोजाईमा पर्ने गरेको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले बताए।
बिहीवार मात्रै १० टन बढी आलुको कारोवार भएको छ। जसअनुसार कुल ३ सय ५० जनाले विभिन्न परिणाममा आलु किनेर लगेका छन्। हालसम्म एक जनाले न्यूनतम १० केजीदेखि अधिकत्तम पाँच सय केजीसम्म आलु किनेका छन्।
महोत्सवमा विभिन्न सांगीतिक कार्यक्रम पनि राखिएको छ। बिहीवार लोकदोहोरीतर्फ राजन कार्की, सरस्वती लामिछाने, ज्योति लोहोनी, विनोद रामदाम र राजेन्द्र पोखरेल, पप कन्सर्टतर्फ लाहुरे, काल रात्री, गगन गुरुङ तथा रक्षा व्याण्ड साथै हास्यतर्फ राजेन्द्र गिरी, मिना गिरी, मनोज गोर्खाली (होचा व्यक्ति) लगायतले प्रस्तुति दिएका थिए।
नववर्षको दिन लोकदोहोरीतर्फ बद्री पगेनी, माया गुरुङ, कमला सुनार, सुभद्रा श्रेष्ठ र सन्तोष सुवेदी, पपतर्फ अस्मिता अधिकारी, सुनिल गायक, गगन गुरुङ र यम नेपालीका प्रस्तुति भइरहेका छन्।
बिहीवार महोत्सवलाई सम्बोधन गर्दै कृषि अनुसन्धान निर्देशनालय लुम्लेका निर्देशक डा. कालिकाप्रसाद उपाध्यायले आलुलाई बान्डिङ गर्न सफल भएकोमा हेमजावासीलाई बधाई दिर्दै आलुको उत्पादन तथा उत्पादकत्व बढाउन पहल गर्नुपर्ने बताए।
महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम रहेका छन्।


