ताङतिङ- कास्कीको पोखराबाट २७ किलोमिटरको दूरीमा रहेको गुरुङ गाउँ तानतिङ (तोनी नासा)ले पर्यटक लोभ्याउन थालेको छ। मौलिक गुरुङ संस्कार र संस्कृतिको अवलोकन र अनुभवका लागि ताङतिङले लोकप्रियता कमाउन थालेको हो।
आँखैअगाडि देखिने लमजुङ हिमाल र अन्नपूर्ण हिमालले ताङतिङको सौन्दर्य बढाइदिएका छन्। गुरुङ संस्कृतिको आतिथ्य सत्कारले पर्यटनमा सुगन्ध थपेको छ।
करिब २५० परम्परागत घर रहेको गाँउमा आन्तरिक र बाह्य पर्यटकका लागि १४ घरमा सामुदायिक होमस्टे चलाइएको छ। स्थानीय रूपमा उत्पादित अर्गानिक खाना, ढिँडो, लोकल कुखुराको मासु, वनबाट टिपिएको निहुरो जस्ता स्वादिष्ट नेपाली खानाले पर्यटक लोभिने गरेका छन्।
पोखराबाट सार्वजनकि बस, जीप तथा व्यक्तिगत सवारीका साधनबाट सहजै पुग्न सकिन्छ।








