काठमाडौँ- काठमाडौँ महानगरले काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरको फोहोर व्यवस्थापनबारे अनुगमन गरेको छ।
उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा गएको अनुगमन टोलीले शुक्रबार अनुगमन गरको हो।
वीर अस्पतालबाट मासिक २७ हजार ५ सय किलो फोहोर उत्पादन हुने गरेको छ। संक्रमणजन्य फोहोर ८ हजार १५३ केजी, सुइबिनाको सिरिञ्ज ६३९ केजी, तिखो सिसा १२० केजी, धारिलो तथा तीखो धातु १०४ केजी, डाइपर र सेनिटरी प्याड २ हजार १४४ केजी, कागज २ हजार २२३ केजी, प्लाष्टिक र प्लाष्टिकजन्य बोतल ७ हजार ७०२ केजी, नफुटेका सिसा १ हजार ४४० केजी फोहोर छ। जसमध्ये ५ हजार ३६ किलो कुहिने फोहोर छ।
ट्रमा सेन्टरमा मासिक ९ हजार किलो फोहोर उत्पादन हुन्छ। जसमा संक्रमित फोहोर २ हजार ४ सय केजी छ। बाँकी जैविक फोहोर हो।
अनुगमनपछि उपप्रमुख डंगोलले अस्ततालको फोहोर व्यवस्थापनलाई सुधार गर्न अस्पताललाई निर्देशन दिइएको जानकारी दिइन्।
स्रोतमा फोहोर मिसिने, ढुवानी तथा प्रशोधन कार्यमा सहभागी हुने व्यक्तिको सुरक्षा, भण्डारण कक्षको उचित प्रबन्ध र बाहिर निकाल्ने फोहोरमा धारिलो तथा जोखिमयुक्त फोहोर मिसिन सक्ने खतराबाट बचाउन अनुगमन टोलीले निर्देशन गरेको थियो।
अनुगमनका क्रममा ट्रमा सेन्टरमा उपचाररत एक जना बिरामीको १९औँ जन्मोत्सवमा उपप्रमुख सहभागी भएकी थिइन्। बिरामीका साथमा बुबा र दिदी थिए। यो अभ्यासलाई डंगोलले अनुकरणीय भनेकी छन्।


