काठमाडौँ- शिक्षा पत्रकार समूहले शिक्षा क्षेत्रमा योगदान दिने विभिन्न व्यक्तिलाई सम्मान गरेको छ। स्थापनाको २५ वर्ष पुरा भएरपछि रजत जयन्ती मनाउँदै समूहले ५ जनालाई पुरस्कार तथा सम्मान गरेको हो।
शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री अशोककुमार राईको प्रमुख आतिथ्य, संसदको शिक्षा समिति सभापति भानुभक्त जोशी, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा, शिक्षा समिति सदस्य बद्री पाण्डे लगायतका व्यक्तिहरुको उपस्थितिमा समूहले आफ्नो रजत जयन्ती मनाएको हो।
शिक्षा क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको भन्दै बर्दियाको ठाकुराबाबा नगरपालिकालाई सम्मान गरेको छ। २०७९ सालदेखि सुरु गरिएको निःशुल्क शिक्षा अभ्यासलाई उच्च सम्मान गर्दै समूहले नगरपालिकालाई सम्मान गरेको हो।
त्यस्तै नेपालको सार्वजनिक शिक्षा सुधारका लागि विगत २ दशकदेखि पत्रकारिताको माध्यमबाट अनवररुपमा योगदान पु¥याएको भन्दै एडुखबर डटकमका पत्रकार श्रीधर पौडेललाई पनि सम्मान तथा पुरस्कृत गरेको छ। उनलाई रजत जयन्तीको अवसरमा तीर्थराज भूसालको स्मृतिमा स्थापित ३५ हजार राशीको उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार २०८० प्रदान गरिएको हो।
त्यस्तै सामुदायिक विद्यालयको सिर्जनशील शिक्षक सम्मानतर्फ राष्ट्रिय आधारभूत विद्यालय माडी चितवनका शिक्षक मिल्सना महतोलाई सम्मानित गरिएको छ भने सामुदायिक विद्यालयको उत्कृष्ट प्रनाधाध्यपक सम्मान २०८० बाट श्री भवानी आधारभूत विद्यालय इलामकी प्रधानाध्यापक रचना देवान सम्मानित भएकी हुन्।
उत्कृष्ट सामुदायिक विद्यालय व्यवस्थापन समिति २०८० बाट श्री सिद्धि गणेश मावि कागेश्वरी मनोहरा काठमाडौँका व्यवस्थापन समितिका अध्यक्ष श्री राजकुमार थापा सम्मानित भएका छन्।


