काठमाडौँ- लेखक, साहित्यकार तथा पत्रकार केशु विरहीको ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा सहरी विकासमन्त्री सीता गुरुङ तथा मदन पुरस्कार बिजेता लेखक भगिराज इङनामलगायतले पुस्तक सार्वजनिक गरे।
तेह्रथुम जिल्लाको साहित्यिक तथा पत्रकारिताको इतिहास खोज गरी पुस्तक प्रकाशन गरेकोमा मन्त्री गुरुङले विरहीप्रति आभार व्यक्त गरिन्।
तेह्रथुमले नेपालको साहित्यिक क्षेत्रसहित विभिन्न विधामा उल्लेख्य योगदान पुर्याएपनि त्यसको दस्तावेजीकरणको काम नभएकोमा विरहीले सत्प्रयास गरेको भन्दै प्रशंसा गरिन्।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खगेन्द्रप्रसाद लुइँटेलले तेह्रथुमको साहित्यिक इतिहासलाई पुस्तकाकार गरेको भन्दै विरहीलाई जोखिमपूर्ण कार्यका लागि बधाई ज्ञापन गरे।
मदन पुरस्कार विजेता लेखक भगिराज इङ्नामले विरहीले मसिना सूचना र गतिविधिहरुलाई समेत समावेश गरेर पुस्तक तयार गरेको बताए। मदन पुरस्कार बिजेता लेखक भगिराज इङनामले १८६७ सालमा तेह्रथुमको नाम रहेको भनेर लेखकले पुरानाले गरेको गल्ती नदोहोर्याएको बताएका थिए।
तेह्रथुममै थातथलो भएका विरहीका यसअघि कहालिलाग्दा गोरेटाहरू’ (उपन्यास) सहलेखन –२०५६, ‘आमाको माया’ (उपन्यास) –२०५७, ‘दन्किएको आगो’ (गजल सङ्ग्रह) –२०६३, ‘सुस्केरा’ (संयुक्त साहित्यिकसङ्ग्रह) –२०६३, ‘भास्कर वंशावली’ (वंशावली) –२०६५, ‘सुलोचना’ (कथासङ्ग्रह) –२०७१, ‘रेस्माको स्यान्डल’ (बालकथासङ्ग्रह) –२०७७ आदि प्रकाशित छन्।


