काठमाडौँ- आज राष्ट्रिय प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ।
दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक तथा सामुदायिक संघसंस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लव्धप्रतिष्ठित व्यक्तित्व लगायतको सहभागीता रहने छ।
सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अंकीत व्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गर्ने कार्यक्रम पनि तय भएको छ।
२००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ। प्रजातन्त्र स्थापनाका लागि कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्ति नै भएको थियो। उक्त क्रान्तिलाई तत्कालीन राजा त्रिभुवनले साथ दिएपछि प्रजातन्त्र स्थापना सम्भव भएको बताइन्छ। तर गणतन्त्र स्थापना पछि भने प्रजातन्त्र दिवस ओझेलमा परेको थियो।


