काठमाडाैँ- वीरगञ्जमा साेमबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएकाे छ। सोमबार हिन्दू समाजले निकालेको प्रदर्शनका क्रममा दुई पक्षबीच वीरगन्जमा झडपको स्थिति सृजना भएकाले निषेधाज्ञा जारी गरिएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएकाे छ।
निषेधाज्ञासँगै महानगरपालिका भित्रकाे सुरक्षा व्यवस्था कडा पारिएकाे छ। हाल महानगरका चाेक र गल्लीमा सुरक्षाकर्मीकाे बाक्लाे उपस्थिति देख्न सकिन्छ।
रौतहटको इशनाथ नगरपालिकाको झडपको विरोधमा वीरगञ्जमा प्रदर्शन भएकाे र प्रदर्शनका क्रममा २ समूहबिच झडप हुने स्थिति सृजना भएपछि निषेधाज्ञा जारी गर्नु परेकाे पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए। भुसालका अनुसार सोमबार साँझ ५ बजेदेखि अर्को सूचना जारी नहुन्जलेसम्म वीरगञ्ज क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको हाे।
जिल्ला प्रशासन कार्यालय पर्साले साँझ ५ बजेपछि महानगरपालिकाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो।
वीरगन्जमा सुरक्षा व्यवस्था कडा पार्नका लागि ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको पर्साका प्रहरी नायब उपरीक्षक एवं निमित्त प्रहरी प्रमुख कुमारविक्रम थापाले बताए।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी झण्डै एक हजार प्रहरी जिल्लाका विभिन्न स्थानमा खटाइएको निमित्त प्रमुख थापाको भनाइ छ।
महानगरको माईस्थान चोक, आदर्शनगर चोक, पावरहाउस चोक, मुर्ली चोक, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, भन्सार एरियालगायत मुख्य चोक तथा गल्लीमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।
पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ।
निषेधाज्ञा जारी गरेको ठाउँमा हिँड्डुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेलालगायत उच्छृङ्खल गतिविधि गर्नमा रोक लगाएको प्रजिअ भुसालले बताए।


