भरतपुर (चितवन)- प्रधानसेनापति प्रभुराम शर्माले ‘विदेशमा सजिलै धन कमाउन सकिन्छ’ भन्ने भ्रममा नपर्न आग्रह गरेका छन्। यस्तो भ्रमका कारण आफूलाई जोखिममा नपार्न पनि उनले सुझाव दिएका छन्।
नेपाली सेना कल्याणकारी बोर्डद्वारा भरतपुरमा शुक्रबार आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। आर्थिक प्रलोभनमा परेर अरू देशको सैनिकमा भर्ना हुन नजान पनि उनको आग्रह छ।
अवकाशप्राप्त एवं बहालवाला सैनिकलाई आफ्नै गाउँ ठाउँमा प्रचुर सम्भावना भएको भन्दै सैनिक जीवनको दौरान प्राप्त ज्ञान, सीप र अनुभव आफ्नै समाजको विकास उत्थानमा लाग्न आह्वान गरे।
‘विदेशमा जाने, विदेश पुग्नका लागि गैरकानुनी मार्ग प्रयोग गर्ने र विदेशी सेनामा भर्ना हुनुको सट्टा आफैँ गाउँ, ठाउँ, टोल, जिल्लामा रहेका सम्भावना उपयोग गर्न सकेमा समाजमा आत्मसम्मान र प्रतिष्ठामा समृद्धि हुन्छ। यसले गर्दा समग्र देश विकासमा टेवा पुग्ने मैले विश्वास लिएको छु,’ उनले भने।
सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले नेपाली सेनाका पूर्वसैनिकले आयआर्जनका लागि कृषि, विभिन्न व्यवसाय, उद्योग सञ्चालन गरी समाजमा रोजगारीको अवसर सिर्जना गर्न सफल भएको बताए।
‘सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने नारासहित भरतपुर क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी आयोजना गरिएको सम्मेलनमा यस क्षेत्रका ज्येष्ठ भूपू ९६ वर्षीय गङ्गाबहादुर सुनुवार र ज्येष्ठ एकल महिला ९८ वर्षीय गोमादेवी कार्कीलाई सम्मान गरिएको थियो।

प्रधानसेनापति प्रभुराम शर्मा शुक्रबार भरतपुरको नयाँ सबुज गणमा भएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलनमा सम्बोधन गर्दै। तस्बिर : सनद अधिकारी/रासस
कार्यक्रममा नेपाली सेनामा आफ्ना चार वा सोभन्दा बढी सन्ततिलाई भर्ना हुन प्रेरित गर्ने सातजना माता र पितालाई सम्मान गरिएको थियो। सो अवसरमा यस क्षेत्रमा बसोबास गर्ने फरक क्षमताका हिताधिकारीलाई ह्विल चेयर, वैशाखी तथा नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कका तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको सेनाले जानकारी दिएको छ।
सम्मेलनका क्रममा भूपूसैनिक, एकल महिला तथा आश्रित परिवारलाई स्वास्थ्योपचार सेवा एवं लघुवित्त कार्यक्रमका ऋणीलाई सहुलियतदरमा उपलब्ध गराइएको रकमको चेक हस्तान्तरण तथा ज्येष्ठ भूपूसैनिक र एकलको सम्मान गरियो। भूपूसैनिकको जोसिलो मार्चपास, जिल्लागत सांस्कृतिक झाँकी र सैनिक ब्यान्ड प्रदर्शनका साथै ज्येष्ठ सैनिक तथा चारभन्दा बढी सन्तति सेनामा हुनेका मातापितालाई सम्मान र अन्तरक्रिया कार्यक्रमसमेत भएको थियो।
सम्मेलनमा प्रस्तुत मौलिक वेशभूषासहितको गीत, सङ्गीतसहितको नृत्य र झाँकीले यस क्षेत्रको भाषा, संस्कृति र रहनको संरक्षण, संवद्र्धन र उजागर गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
पुराना पल्टनियाबीचको भेटघाट र विचारको आदानप्रदानले बहालवाला र भूपूबीचका सम्बन्ध प्रगाढ तुल्याउन योगदान पुग्ने विश्वास लिइएको छ। सम्मेलनमा सहभागीलाई टोपी, सल, ट्र्याकसुट, स्वीटरसहितको झोला र आतेजाते दैनिक भ्रमणभत्तासमेत उपलब्ध गराउने सैनिक परम्परा छ।
प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ गर्ने अभ्यास छ। मुलुकमा हाल निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूपू सैनिकको सङ्ख्या ८७ हजार २ छ भने पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १६ हजार २११ भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
सेनाले हिताधिकारीको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार एवं सेवा र सहुलियतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। सैनिक कल्याणकारी बोर्डबाट स्वास्थ्य र शिक्षालगायत सेवा प्राप्त गर्ने हिताधिकारीको सङ्ख्या १० लाखभन्दा बढी छ। सैनिक कल्याणकारी कोषमा लगानी रहेकोसमेत गरी हाल रु ८२ अर्ब ६६ करोड १२ लाख सम्पत्ति रहेको सो अवसरमा जानकारी दिइयो।
सेना, भूतपूर्व सैनिक र तिनका आश्रित परिवारको कल्याणका खातिर स्थापित सैनिक कल्याणकारी कोष बहुआयामिक र अधिकतम उपयोग आयमूलक कार्यमार्फत् हिताधिकारीको जीवनस्तर उकास्ने प्रयासमा रहेको बताइएको छ।
आगामी चैत ४ गते उपत्यका पृतना र मातहतका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा भूतपूर्व सैनिक सम्मेलन आयोजना हुने कार्यक्रम रहेको छ।


