काठमाडौँ- प्रहरीले थापाथलीस्थित प्रसुति गृहबाट चोरी भएको बालिका फेला पारेको छ। राति अबेर काँडाघारीमा उक्त बालिकालाई फेला पारेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बालिका चोरी गरेको कसुरमा ३ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा दैलख घर भई हाल काँडाघारीमा बस्ने मनीषा सिंह, श्रीमान र उनकी दिदी रहेको प्रहरीको भनाइ छ।
बालिकालाई शुक्राबार राति ११ः४५ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट सकुशल उद्धार गरेको छ।
विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनीषाले बालिकाको चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। बालिका लिएर गएपछि छिमेकी तथा आफन्तलाई सुत्केरी भएको जानकारीसमेत गराएको पाइएको छ।


