काठमाडौँ- लघुवित्तका ऋणी संसद् भवनमा प्रवेश गरेको विषयमा सिंहदरबारमा तरंग पैदा भएको छ। यो विषयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।
गृह मन्त्रालयमा मन्त्री श्रेष्ठले तीन वटै सुरक्षा निकायका प्रमुखसँग घटनाको विषयमा जिज्ञासा राखेका थिए।
सुरक्षा प्रमुखहरूले भने सोमबार संसद् चलिरहँदा ‘आकस्मिक रूपमा ४८ महिलाको टिम संसद् भवन प्रवेश गरेको’ ब्रिफिङ गरेका छन्।
सुरक्षा प्रमुखहरूले ४८ जना महिलाको टिम एकै पटक प्रवेश गरेपछि सङ्घीय संसद्को नम्बर–२ गेटमा सुरक्षार्थ खटिएका प्रहरीले रोक्न नसकेको ‘ब्रिफिङ’ गरे।
यसैबीच प्रहरी प्रधान कार्यालयले सङ्घीय संसद् भवनको बाहिरी घेरामा खटिएका दुई दर्जन बढी सुरक्षाकर्मीलाई फिर्ता गर्ने निर्णय गरेको छ।
घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरेको छ।
मन्त्री श्रेष्ठले आगामी दिनमा ‘यस्ता गल्ती नगर्न’ निर्देशन दिएका छन्।


