काठमाडौँ- भजनशिरोमणि भक्तराज आचार्यको प्रार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिने क्रम जारी छ।
मंगलबार नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको छ।
वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको सोमबार निधन भएको थियो। सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो।
वि.सं. १९९९ साल असोज १६ गते जन्मिएका आचार्यलाई नेपाली संगीत क्षेत्रमा भजनशिरोमणिका रूपमा चिन्ने गरिन्छ।
‘मुटु जलिरहेछ’, ‘जति चोट दिन्छौँ’, ‘हजार सपना’, ‘माया मेरी साँझ बनी’, ‘जीवन भन्नु त’, ‘यहाँ जिन्दगीले’लगायत झन्डै ५ सय गीतमा आचार्यले आवाज दिएका छन्।
स्वर्ण पदक, छिन्नलता पुरस्कार गोरखा दक्षिण बाहु, छिन्नलता पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, इमेज लाइफ टाइम अवार्डलगायत दर्जनौँ अवार्डले सम्मानित आचार्यको ८१ वर्षको उमेरमा निधन भएको हो।
उनीमाथि २०४६ सालमा काठमाडौँको बौद्धमा सांघातिक हमला भएको थियो। २०५० मा जिब्रोको शल्यक्रिया गरेपछि उनको गायनयात्रामा विराम लाग्यो।
संगीतमा निरन्तर काम गर्न नपाए पनि उनका गीत र संगीत नेपाली सांगीतिक क्षेत्रमा घन्किरहनेछन्।
भक्तराजका छोराहरू सत्यराज र स्वरूपराज गायन पेसामा नै छन्।
अन्तिम श्रद्धाञ्जलिका केही तस्बिरहरू














तस्बिर नेपाल फोटो लाइब्रेरी ।


