काठमाडौँ- सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ)का ९ जना कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा मुद्दा दर्ता गरेको छ। उनीहरूविरुद्ध करिब २ अर्ब ७० करोड रकम बिगो मागदावी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले छु्ट्टाछुट्टै बिगो कायम गरी मुद्दा दायर गरेको छ। सेक्युरिटी प्रिन्टिङका कार्यकारी निर्देशक विकल पौडेलसँग मात्र अख्तियारले ६९ करोड रुपैयाँ बिगो मागेको छ।
सेक्युरिटी प्रिन्टिङका सीडीई नवीनकुमार पोखरेल (मेकानिकल), सहायक निर्देशक रमेशप्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, पूर्व लेखा अधिकृत रामबहादुर बुढा, शाखा अधिकृत शिरिष उपाध्यायविरुद्ध पनि मुद्दा अख्तियारले मुद्दा दायर गरेको छ।
यस्तै इन्जिनियरिङ्ग मार्केटिङ कन्सर्न प्रालिका प्रबन्ध निर्देशक रोहित मान प्रधान, मेपटेक विल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौ छन्
सुरक्षण मुद्रण केन्द्रका लागि आवश्यक पावर प्रणाली तथा प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांक खरिदमा अनियमितता भएको आरोपमा मुद्दा चलाइएको हो। पावर प्रणाली तथा प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांक खरिदका लागि अस्वाभाविक लागत निर्धारण गरिएको, सम्झौतापछि पनि गुणस्तरहीन ट्रान्सफर स्वीकार गरिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
उजुरीमा अनुसन्धान खरिद कार्यमा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौताविपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक कन्ट्री अफ ओरिजिन भएको जेनेरेटर स्वीकार गरी भुक्तानी गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। यस्तै, खरिद सम्झौता भन्दा बढी भुक्तानी गरेको समेत अख्तियारको आरोप छ।
चाहिँदै नचाहिएको बल्क फ्युल ट्यांक सिस्टम खरिद गरी सरकारी रकम दुरुपयोग गरेको, विद्युतीय पूर्वाधार खरिदमा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।



