काठमाडौँ- चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी शालिन पोखरेलको शवपरीक्षण (पोस्टमार्टम) रिपोर्ट आएको छ। त्रिवि शिक्षण अस्पतालले आइतबार चितवन प्रहरीलाई रिपोर्ट पठाएका हुन्।
पोस्टमार्टम रिपोर्टमा ‘ह्याङ्गिङ’का कारण शालिनको मृत्य भएको उल्लेख छ। अस्पताल स्रोतका अनुसार उनको मृत्यु अघि बलात्कार भएको प्रमाण पोस्टमार्टममा देखिएको छैन।
त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरू डा. गोपाल चौधरी र डा. युगेन डोल्मा वालुङसहिका ५ जना फरेन्सिक विशेषज्ञहरूले शालिनको शवपरीक्षण गरेका हुन्। पीडित परिवारले उनको शरीरमा चोटपटक रहेको दाबी गर्दै आएका छन्। तर, पोस्टमार्टम रिपोर्ट अनुसार शरीरमा ठुलो चोटपटक देखिएको छैन।
कक्षा ८ मा अध्ययनरत छात्रा शालिन फागुन १२ मा होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।
घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल छन्। उनीहरू विरुद्ध ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएको छ।
घटनास्थलमा शालिनले छाडेको सुसाइड नोट भेटिएको छ। सुसाइड नोटमा उनले सबैसँग माफी मागेको विषय उल्लेख गरेको चितवन प्रहरीले जानकारी दिएको छ।
शालिन दुई वर्षदेखि उक्त होस्टलमा बसेर पढ्दै आएकी थिइन्।


