काठमाडौँ- हिन्दूधर्मावलम्बीहरूले भगवान् शिवको पूजा आराधना गरी महाशिवरात्री पर्व मनाइरहेका छन्।
फागुन कृष्ण त्रियोदशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने भगवान शिवको पूजा गरी मनाइन्छ।
पर्वमा उपवास बसी रातभर जाग्राम गरेर शिवको प्रिय गाईको दूध, धतुरो र बेलपत्र चढाएमा सर्वसिद्धी लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ।
महाशिवरात्रीको अवसरमा काठमाडौंस्थित पशुपतिनाथको दर्शन र शिवरात्रीको मेला भर्न देशका विभिन्न स्थान तथा छिमेकी राष्ट्र भारतबाट पनि भक्तजनहरूको घुईंचो लागेको छ। तिलगंगा, जयबागेश्वरी र गुहेश्वरी तर्फबाट दर्शनार्थीको लाइन व्यवस्थापन गरिएको छ।



















