पर्सा- सार्वजनिक बसमा यात्रा गरिरहेका यात्रुलाई बेहोस् बनाई लुटपाट गर्ने भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बिहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना जोगापट्टी ग्राम मछरगाव वडा नं २ का ३७ वर्षीय अखिलेश कुमार साह छन्। उनलाई पर्सा प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।
बुधबार नारायणघाटबाट वीरगञ्जतर्फ आइरहेको बसमा चढेका बारा आदर्श कोतवाल गाउँपालिका-८ का उपेन्द्र मुखियालाई मिठाई र बिस्कुट खुवाई बेहोस पारेका थिए।
बेहोस बनेका मुखियाका साथमा रहेको ४१ हजार ५ सय रुपैयाँ र १ थान मोबाइल सेट चोरी गरी उनी फरार भएका थिए।
खोजतलासको क्रममा वीरगञ्ज महानगरपालिका–१६ भानुचोकबाट बुधबार साहलाई पक्राउ परेका हुन्।
साहको साथबाट २७ हजार ४ सय १० रुपैयाँ र चोरीको एक थान मोबाइल बरामद भएको प्रहरीले जानकारी दिएको छ।


