काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुखका हैसियतमा प्राप्त गरेको सवारी सुविधा फिर्ता गरेका छन्। पौडेलले मंगलबार संसद सचिवालयलाई गाडी फिर्ता गरेका हुन्।
‘पूर्वसभामुखको हैसियतमा राष्ट्रपतिज्यूले पाउनु भएको गाडी मंगलबार संसद् सचिवालयलाई फिर्ता गरिएको छ,’ राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले भने। पौडैल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।
पूर्वसभामुखको हैसियतमा संसद सचिवालयबाट लिएको गाडी ढिला गरी मंगलबार मात्रै फिर्ता गरेका हुन्। उनले राष्ट्रपतिमा निर्वाचित भएको एक साताभित्र गाडी फिर्ता गर्नुपर्ने थियो।
रामचन्द्र पौडेलले २०५१-२०५५ सम्म प्रतिनिधि सभाको सभामुखको जिम्मेवारी बहन गरेका थिए।


