भेरीगङ्गा (सुर्खेत)- वीरेन्द्रनगर नगरपालिका क्षेत्रका अस्थायी संरचना हटाउन सुरु गरिएको छ। पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेपछि वीरेन्द्रनगर नगरपालिकाले वडा नं ६ को हटिया लाइन क्षेत्रमा अस्थायी संरचना हटाउन सुरु गरेको हो।
नगर विकास समितिले गत माघ १७ गते व्यापारीलाई आफ्ना संरचना भत्काइ सरकारी जग्गा खाली गराउन सूचना जारी गरेको थियो । यही फागुन २३ गते नै समय सकिएको भए पनि नगरपालिकाले फागुन ३० गतेसम्म संरचना हटाउन समय उपलब्ध गराएको थियो। तर, व्यवसायीले उचित विकल्प नदिएको भन्दै संरचना हटाउनुको साटो आन्दोलन थालेपछि नगरपालिकाले आफैँ संरचना हटाउन थालेको जनाएको छ।
वीरेन्द्रनगर–६ को हङ्कङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा डोजर चलाउन थालेको नगरपालिका प्रमुख मोहनमाया ढकालले बताइन्। नगरपालिकाले डोजर चलाउन थालेपछि केही व्यापारीले ढुङ्गामुढा गरेपछि केहीबेर तनाव भएको थियो।
व्यवसायीको आक्रमणबाट डोजरको सिसा फुटेको छ भने नगरपालिकाका तीन जना कर्मचारी घाइते भएका छन् नगरप्रमुख ढकालले प्रमुख जिल्ला अधिकारीसँग समन्वय भइरहेको र अस्थायी संरचना हटाइने बताइन्।


