काठमाडौँ- सुन तस्करी जाँचबुझ आयोगले सहसचिव झलकराम अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ। अधिकारी हाल नेपाल ट्रस्टको कार्यालयमा प्रवक्ताको भूमिकामा छन्।
६० किलो सुन तस्करीमा शङ्कास्पद भूमिका देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो। ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएको छ।
दावा र अधिकारीबीच वी च्याटमा नियमित कुराकानी हुने गरेको फेला परेको थियो। उनले छिरिङलाई पानी तान्ने पम्प जस्तो फोटोहरू पठाएको फेला परेको थियो। तर, ब्यूरोले गम्भीरतापूर्वक छानबिन नै गरेन।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले उनलाई कारबाही सिफारिस गरेर बिहीबार जाँचबुझ प्रतिदेन बुझाएको थियो।
हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादी दावासँग अधिकारीले ह्वाट्स एपमा शङ्कास्पद कुराकानी गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा पनि खुलेको थियो।
राजनीतिक शक्तिकेन्द्रको दबाबमा सीआईबीले उनलाई सरकारी साक्षी बनाएर अनुसन्धान प्रतिवेदन बुझाएको थियो।


