नयाँ दिल्ली– बलिउडका सुपरस्टार अमिताभ बच्चन अस्पताल भर्ना भएका छन्। उनलाई शुक्रबार बिहान मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरिएको हो। ८१ वर्षीय अमिताभको एञ्जियोप्लास्टी शल्यक्रिया गरिएको छ।
बिहान उनी उच्च सेक्युरिटीको साथ अस्पताल पुगेका थिए। खबरहरूका अनुसार अभिनेताको काँधमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो। उनको टिमले यो खबरको पुष्टि भने गरिसकेको छैन। तर उनको अवस्था स्थिर रहेको बताइएको छ। हालैका दिनमा अमिताभ स्वास्थ्यका कारण चर्चामा छन्।
केही दिन अघि उनको खुट्टामा चोट लागेको थियो। यस्तैमा उनी अस्पताल भर्ना भएको खबर आएको हो। यही अड्कलबाजीबिच अमिताभले सामाजिक सञ्जाल एक्समा रहेको आफ्नो ह्यान्डलबाट एउटा ट्विट गरेका छन्।
यसमा लेखिएको छ, ‘तपाई सबैलाई धेरै धन्यवाद।’ उनले यो पोष्ट शल्यक्रिया पछि शुभचिन्तकहरूलाई आभार गर्दै गरेको अनुमान गरिएको छ।


