काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरेको छ।
आयोगले उनीसहित २४ जनाविरुद्ध रु ११ लाख ९६ हजार छ सय ९५ बराबरको सरकारी सम्पत्ति हानिनोक्सानी गरेको पुष्टि हुन आएको हुँदा उक्त कार्यमा संलग्न कर्मचारी, सामुदायिक वनका पदाधिकारी र उपभोक्ता समितिलगायत व्यक्तिउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेकाले ऐनको दफा १७ ले निर्दिष्ट गरेबमोजिम ऐनको दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद र दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गरी ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो असुलउपर गर्न माग दाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
यसैगरी, आयोगले रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेमबहादुर थापा, सचिव धनकुमारी मगर, तत्कालीन सदस्य उर्मिला थापा मगर र पूर्णबहादुर सुस्लिङ, महोत्तरीको बर्दिबास नगरपालिका–१ बस्ने जग्गाधनीद्वय लीलामणि आचार्य र कृष्णप्रसाद गौतम, रम्तेल डाँडा सामुदायिक वनका उपभोक्ता एमबहादुर थापा मगर तथा नन्दमाया खनाल क्षेत्री र सिन्धुलीको सुनकोशी गाउँपालिका–४ का रूख कटान गर्ने ठेकेदार सन्दीप नेपालीविरुद्ध पनि अख्तियारले रु ११ लाख ९६ हजार छ सय ९५ बिगो माग दाबी गरेको छ।
यसैगरी, सब–डिभिजन वन कार्यालय बर्दिवासका तत्कालीन सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादव, फरेस्टर सन्तोषकुमार साह, वनरक्षक राजकिशोर झा, अजयकुमार यादव, राकेशकुमार यादव, नारायण ढुङ्गेल र दिलीप महतोविरुद्ध पनि भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
नापी कार्यालय बर्दिवासका तत्कालीन अमिन रामदरश राउत, मालपोत कार्यालय बर्दिवासका तत्कालीन नायब सुब्बा ओमप्रकाश खड्का र बर्दिबास नगरपालिका–१ का तत्कालीन वडा सदस्य शान्तादेवी श्रेष्ठ, बर्दिवास–१ का तत्कालीन वडाध्यक्ष चुडामणि पोखरेल र रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेरबहादुर राउतविरुद्ध अख्तियारले आरोपपत्र दायर गरेको छ।


