काठमाडौँ- संसद् भवनमा लघुवित्तका ऋणीहरु प्रवेश गरेको घटनाबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ। गत फागुन १४ गते भएको घटनाको छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली नेतृत्वको समिति गठन गरिएको थियो।
मैनाली नेतृत्वको समितिले कमजोर ‘सूचना संयन्त्र’का कारण अति संवेदनशील क्षेत्रमा लघुवित्तका ऋणीहरू प्रवेश गर्न सफल भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको हो। समितिका सदस्यहरूले उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापालाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्।
छानबिन समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे सदस्य थिए। समितिले जिल्ला सुरक्षा समितिले सूचना सङ्कलन गर्ने संयन्त्र ‘चुस्त’ नबनाएको कारण घटना भएको निष्कर्ष निकालेको छ।
प्रमुख जिल्ला अधिकारीले नेतृत्व गर्ने जिल्ला सुरक्षा समितिमा सबै सुरक्षा निकायको प्रतिनिधित्व हुन्छ। समितिको रिपोर्टमा भनिएको छ, ‘जिल्ला सुरक्षा समितिले सूचना सङ्कलन चुस्त बनाएको देखिएन।’
लघुवित्तका ऋणिहरुहरुलाई नेतृत्व गर्नेहरूले त्यसदिन प्रदर्शनको कार्यक्रम नभएको बताएपछि त्यही सूचनालाई भर पर्दा अप्रत्याशित घटना भएको छानबिन समितिको निष्कर्ष रहेको छानबिन समितिका एकजना सदस्यले बताए। उनले भने, ‘लघुवित्तका ऋणीको नेतृत्वकर्ताले कार्यक्रम छैन भनेपछि त्यतातिर कसैले पनि ध्यान दिएको देखिएन।’
स्थानीय प्रहरीको सहयोग नहुँदा संसद् भवनको गेटमा खटिएका सीमित प्रहरीले ४ दर्जन प्रदर्शनकारीलाई रोक्न नसकेको छानबिन प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा भनिएको छ, ‘बाहिरी सुरक्षा घेरामा खटिएका सुरक्षाकर्मी र पोष्ट ड्युटीले छेक्न सक्ने अवस्था देखिँदैन।’
निषेधित क्षेत्र तोडेर संसद् भवनमा प्रवेश गरेका ४९ जना लघुवित्तका ऋणीहरू रिहा भइसकेका छन् । त्यहाँ परिचालित प्रहरी निरीक्षक नेतृत्वको केन्द्रीय विशेष कार्यदलको टिमलाई परिवर्तन गरेर ८४ जनाको नयाँ टोली परिचालन गरिएको छ ।


