काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौँमा छिटपुट वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशभर बदली भएको छ भने कोशी र मधेश प्रदेशका केही स्थानमा वर्षा पनि भइरहेको छ।
महाशाखाले यो अवस्था भोलीसम्म रहने पूर्वानुमान गरेको छ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ। जसको प्रभाव पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम छ।
मौसमविद गोविन्द झाले आज पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रति प्रभावले कोशी र मधेशका अधिकांश स्थानमा हल्का खालको वर्षा भइरहेको जानकारी दिए। एक–दुई स्थानमा मध्यम खालको वर्षा पनि भइरहेको उनले बताए।
मधेश प्रदेशको जनकपुरधाममा अहिले बिहान सिमसिमे पानी परिरहेको छ भने कोशी प्रदेशको राजधानी विराटनगरमा धुलोमार्ने खालको मात्र पानी परेको स्थानीयको भनाइ छ।
मौसमविद् झाले गण्डकीदेखि पश्चिमको भूभागमा भने तुलनात्मक रुपमा कम बदली भएको र बदली पनि पहाडी क्षेत्रमा बढी र तराई क्षेत्रमा कम रहेको बताए।


