काठमाडौँँ- बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिन सुरु गरेको छ। सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान ८ बजेदेखि चौधरीको बयान लिएको हो।
जग्गा प्रकरणका विषयमा चौधरी आफैँ बयानका लागि सीआईबी पुगेका थिए। सीआईबीले यसअघि नै सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सांसद चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको थियो।
‘नवराज शर्मासमेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अजितनारायणसिं थापासमेत भएको बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको काजि कामपा–३ स्थित १०–०–०–० (दस रोपनी) जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिको नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा कीर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयरका संस्थापक सेयरधनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य सङ्घीय संसद्का माननीय सदस्य श्री विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्युरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीका लागि सादर अनुरोध गरिएको छ,’ प्रहरीले सभामुखलाई पठाएको पत्रमा भनिएको छ।
सीआईबीले लेखेको पत्रबारे संसदीय अभ्यास र कानुनका जानकारहरु सरकारको स्टन्टबाजी भएको बताउँछन्। कांग्रेसले संसदमा गृहमन्त्रीको राजीनामा माग गरिरहेका बेला मातहतको निकायले कांग्रेसकै सांसदमाथि छानबिन भइरहेको छ भन्नु प्रचारबाजी मात्र भएको उनीहरुको बुझाइ छ।
तत्काल कसैलाई पक्राउ गर्नु पर्ने भएको अवस्थामा मात्र प्रहरीले सभामुखलाई जानकारी गराउने भन्ने संवैधानिक व्यवस्था रहेको भन्दै अधिवक्ता अरुण पौडेल भन्छन्, ‘यो प्रचारबाजी हो, संसदमा गृहमन्त्रीको राजीनामा मागिएको छ, नैतिकता त्यहाँ देखाउँदा राम्रो हुन्थ्यो। सरकारले संसदीय समिति बनाउनु पर्ने हो। तर, प्रचारबाजी र काम गरिरहेका छौँ भन्नका लागि मात्र यस्ता काम भइरहेका छन्।’
बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण भएको थियो। विनोद चौधरी च्याम्पियन फुटवेयर लिमिटेडका सेयरधनी एवम् तत्कालीन सञ्चालक समिति सदस्य हुन्।
सरकारी जग्गा गैरकानुनी रुपमा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको खुलेपछि चौधरी पनि अनुसन्धानको दायरामा तानिएका हुन्।
बाँसबारी छाला जुत्ता कारखाना निरन्तर घाटामा भएको भन्दै तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापाले चौधरी घरानाका लुनकरणदास चौधरीसँग एउटा प्रवर्द्धन सम्झौता गरेका थिए।
सम्झौतामा ५१ प्रतिशत सेयर चौधरी र परिवारको नाममा, २५ प्रतिशत बाँसबारी छालाजुत्ताका नाममा र २४ प्रतिशत सर्वसाधारणको सेयर रहने भनिएको थियो।
सम्झौताअनुसार २०४३ साल कात्तिक २७ गते च्याम्पियन फुटवयेर कम्पनी दर्ता भएको थियो।
च्याम्पियन फुटवेयरमा लुनकरणदास चौधरीको २१०० कित्ता सेयर थियो भने विनोद चौधरी, वसन्त चौधरी, अरुणकुमार चौधरी र महेशकुमार अग्रवालको समान २००/२०० कित्ता सेयर थियो। गंगा चौधरीको नाममा १०० कित्ता सेयर थियो। बाँसबारी छाला तथा जुत्ताको नाममा २ हजार कित्ता सेयर थियो।
सम्झौता अनुसार सर्वसाधारणका लागि सेयर जारी नै भएन। तीन/चार वर्ष जुत्ता उत्पादन गरेको च्याम्पियन फुटवेयर बन्द भयो। प्रजातन्त्र पुनर्स्थापनासँगै बाँसबारी छालाजुत्ता कारखाना निजीकरणमा गयो। च्याम्पियन फुटवेयरमा रहेको २ हजार कित्ता सेयर चौधरी समूहले किन्यो।
यही प्रकरणमा माघ १८ गते अरुण चौधरीसहित ३ जना पक्राउ परेका थिए। उनीहरु धरौटीमा रिहा भएपनि सीआईबीले अनुसन्धान गरिरहेको थियो।
मात्र वसन्त चौधरीसँग बयान लिएको सीआईबीले विनोदसँग पनि बयान लिएको हो।
अहिले जग्गाको स्वामित्व विनोद चौधरीको नाममा छैन। सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेलेको देखिएकाले अनुसन्धान गर्न लागिएको सीआईबीको भनाइ छ।


