जनकपुरधाम- महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। बा ३ ख २३९६ नम्बरको बसले गौशालातर्फ जाँदै गरेको मधेश प्रदेश ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो।
प्रहरीका अनुसार बुधबार दिउँसो करिब १२ बजेको समयमा दुर्घटना भएको हो। गौशाला नगरपालिका-१ रामनगरमा निर्माणाधीन रेल्वे ट्रयाकको २ सय मिटर उत्तरपट्टी बसले मोटरसाइकललाई ठक्कर दिएको थियो।
मृत्यु हुनेमा सिरहाको कल्याणपुर नगरपालिका-१० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डल रहेको प्रहरीले जनाएको छ। अमृतले श्रीमती र भतिजीलाई पछाडिको सिटमा राखेर आफूले मोटरसाइकल चलाइरहेका थिए।
मोटरसाइकललाई ठक्कर दिएपछि उनीहरू तीनै जना गम्भीर घाइते भएका थिए। उनीहरूलाई नजिकैको अस्पताल लगिएको थियो। उपचारका क्रममा अंशुको शुभ स्वस्तिक अस्पताल बर्दिबास र अमृतसहित अञ्जुको ट्रमा सेन्टर अस्पताल बर्दिबासमा मृत्यु भएको हो।
बसचालक फरार भएकाले खोजी भइरहेको महोत्तरी प्रहरीले जानकारी दिएको छ।


