सप्तरीः भवन निर्माणसम्बन्धी खाता फुकुवा गर्न सेवाग्राहीसँग घुस लिएको आरोपमा सप्तरीस्थित सामाजिक विकास इकाई कार्यालय राजविराजका सब इन्जिनियर अजय कुमार साफी भनिने अजय रजकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ।
सिरहाको नवराजपुर गाउँपालिका १ स्थित विद्यालयमा भवन निर्माण गरेको रकम निकासाका लागि उपभोक्तासँग सब इन्जिनियर साफीले ८० हजार रुपैयाँ घुस मागेका थिए।
तर उपभोक्ताले ७५ हजार घुस दिन तयार भएका थिए। यसपछि सब इन्जिनियर साफीले तत्कालै १५ हजार रुपैयाँ घुस बुझेका थिए।
घुस रकम लेनदेन भएलगत्तै अख्तियार इटहरीको टोली पुगेको थियो। अख्तियारको टोली देख्ने बित्तिकै सब इन्जिनियर साफी भागेका थिए।
घुसवापतको १५ हजार रुपैयाँ र ५५ हजार रुपैयाँको चेक फ्याँकेर भाग्ने क्रममा रजकलाई अख्तयारको टोलीले नियन्त्रणमा लिएको थियो।
उनीविरुद्ध ७० हजार रुपैयाँ बिगो र बिगो बमोजिम जरिमानाका साथै कैद सजाय माग गरिएको छ।
उनले उपभोक्ताबाट बुझेको रकम फोहोर फाल्ने ठाउँमा फ्याकेर भागेका थिए।


