काठमाडौँ– सादा पोसाकमा खटिएका प्रहरी गैरजिम्मेवार क्रियाकलापमा संलग्न भएको गुनासो आएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले त्यसलाई रोक्न निर्देशन दिएका छन्।
बिहीबार गृहमन्त्री लामिछानेले नेपाल प्रहरी केन्द्रीय कार्यालयलाई सादा पोसाकमा प्रहरीलाई नखटाउन निर्देशन दिएका हुन्।
सादा पोसाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासो आएको भन्दै गृहमन्त्रीले उक्त निर्देशन दिएका हुन्।
गृहको निर्देशनपश्चात् प्रहरी प्रधान कार्यालयले हाल परिचालन गरिएका सादा पोसाकका कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरेको छ।
जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै केन्द्रीय कार्यालय पठाउन पनि मातहतका निकायलाई निर्देशन गरेको छ।


