काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सबै विद्यालयको नाम नेपालीकरण गर्न निर्देशन दिएको छ। बिहीबार सबै विद्यालयहरूलाई पत्र पठाउँदै महानगरले यस्तो निर्देशन जारी गरेको हो।
निजी तवरमा खुलेका अधिकांश विद्यालय (संस्थागत विद्यालय)ले विदेशी भाषामा विद्यालयको नाम राखेकाले त्यसलाई परिवर्तन गरी नेपालीपन झल्कने बनाउनुपर्ने महानगरको निर्देशन पत्रमा उल्लेख छ। यो काम गर्नका लागि सबै विद्यालयले एक महिनाको समय पाएका छन्।
‘नेपालीपन झल्कने नाम नभएका विद्यालयहरुले नियमावलीमा व्यवस्था भए बमोजिम विद्यालयको नामाकरण गर्नको लागि प्रक्रिया अघि बढ़ाई १ (एक) महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित यस विभागमा निवेदन पेस गर्नुहुन अनुरोध छ,’ शिक्षा विभागकी निमित्त विभागीय प्रमुख सरस्वती रिजालको हस्ताक्षरमा महानगरले विद्यालयलाई पठाएको पत्रमा उल्लेख छ।
शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा विद्यालयको नाममा नेपालीपन झल्कनुपर्ने उल्लेख छ।
काठमाडौँ महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरुको नाम नियमावलीमा भएको व्यवस्था बमोजिम भएको नदेखिएको महानगरको भनाइ छ।



