म्याग्दी- घोडेपानी लालीगुराँसले ढकमक्क छ। ३ हजार २ सय मिटर उचाइको घोडेपानी पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको पर्यटकीय गन्तव्य हो।
पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको दृश्यावलोकन गर्न पाइन्छ। पोखरादेखि नयाँ पुल, उल्लेरी भएर एकै दिन र घान्द्रुक भएर दुई दिनमा घोडेपानी पुग्न सकिन्छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको घोडेपानीको गुराँसको जङ्गल गण्डकी प्रदेशकै ठूलो मानिन्छ। नेपालमा पाइने ३२ मध्ये यहाँ १६ प्रजातिका लालीगुराँस पाइन्छन्।
बसन्त ऋतुमा पाखाभर ढकमक्क फुल्ने लालीगुराँसले मनमोहक देखिन्छ। घोडेपानीमा बसेका पर्यटक बिहानै करिब ४० मिनेट उकालो हिँडेर पुनहिलबाट दृष्य अवलोकन गर्न पुगिन्छ।
पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे , मनासलु हिमालको अवलोकन गर्न सकिन्छ।
घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले गुराँसे जंगलबीचमा रहेको कालीसारमा डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा लालीगुराँस पार्क निर्माण पनि गरिएको छ।















–नेपाल फोटो लाइब्रेरी


