काठमाडौँ- नेपाली युवतीलाई भारत लगेर बेचेको आरोपमा दोषी ठहर भएका दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ घर भएका ३८ वर्षीय बच्चु विक सुनार र सोही ठाउँका ४७ वर्षीय दावा तामाङ भनिने दावा लामा छन्।
सिन्धुपाल्चोकका तीन युवतीलाई उनीहरूले भारत लगेर १–१ लाख रुपैयाँका दरले बेचेको आरोपमा उनीहरू दोषी ठहर भइसकेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बच्चुलाई चैत ५ गते कपनबाट र दावालाई चैत १६ गते टीकाथलीबाट पक्राउ परेको हो।
सीआईबी प्रवक्ता तथा एसपी होविन्द्र बोगटीका अनुसार २०६४ माघ ५ गते तीन जना युवतीहरुलाई काठमाडौंबाट वीरगञ्जतर्फ लगेका थिए।
उनीहरूलाई भारतको शहिदनगर लगेर ३ लाख रुपैयाँ लिएर उनीहरूले ती युवतीलाई बिक्री गरेका थिए।
२०७८ फागुन १ गते भएको फैसला उनीहरूलाई दोषी ठहर गरिएको थियो।
तीन वटा फरक–फरक मुद्दामा बच्चुलाई ३० वर्ष कैद र ३ लाख जरिवाना तोकिएको छ।
यस्तै, दावालाई ६० वर्ष कैद र ६ लाख रुपैयाँ जरिवानाको फैसला भएको छ।


