विराटनगर– सुनसरीको हरिनगर गाउँपालिकामा भएको दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति भएको छ।
शनिबार बसेको सर्वदलीय सर्वपक्षीय बैठक पाँच बुँदे सहमति भएको हो।
शनिबारको सहमतिपछि कर्फ्यू विस्तारै हट्ने सुनसरीका कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जानकारी दिए।
बैठकमा दुवै पक्षले गरेका गतिविधि फिर्ता लिने, कर्फ्यूलाई सहज बनाउँदै लैजाने र हटाउने, झडपमा घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने र आवश्यकताका आधारमा छानबिन आयोग गठन गर्ने सहमति भएको छ।
समस्या सामधानका लागि प्रदेश सांसदहरुलाई जिम्मेवारी दिने पनि सहमति भएको छ।
हरिनगर गाउँपालिका– १ भुटाहामा दुई समूहबीच भएको झडपले अवस्था तनावग्रस्त बनेपछि शुक्रबार बेलुकाबाट कर्फ्यू लागेको थियो।
शुक्रबार बेलुकाबाट सुनसरीको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको थियो।
स्थीति नियन्त्रणमा लिन प्रहरीले ८० राउन्ड हवाई फायर र ३९ सेल अश्रु ग्यास प्रहार गरेको थियो।


