२०८३ कार्तिक १६ गते आईतबार

मोटरसाइकल हाँकेर नातिपुस्तासँगै रिपोर्टिङमा कुद्छन् ८० वर्षे पत्रकार

 |  चन्द्रकला भण्डारी
Sanket

चन्द्रकला भण्डारी

झापा, चैत २७
grand_journalist

झापा- काम गर्ने जोस र इच्छाशक्ति हुनेलाई उमेरले छेक्दैन। ‘बुढ्यौली लाग्यो भन्ने त अल्छी गर्नेहरुको बहाना मात्र हो,’ भद्रपुर नगरपालिका–६ भानुनगरका ८० वर्षीय गोविन्दचन्द छेत्रीलाई सक्रिय पत्रकारिता गर्न उमेर बाधक भएको छैन।

मोटरसाइकल हाँकेर झापाको उत्तरी भेग बाहुनडाँगीदेखि दक्षिणको गौरीगञ्जसम्म कलम, कापी र मोबाइल बोकेर फिल्ड रिपोर्टिङमा जाने गरेका छेत्री भन्छन्, ‘एक दिन फिल्ड नगई घरमा बस्नु पर्‍यो भने दिक्क लाग्छ। स्थलगत रिपोर्टिङमा गएपछि नयाँ समाचार भेटिन्छ। नयाँ मानिस र परिवेशसँग घुलमिल भइन्छ। त्यसमै आनन्द लाग्छ।’

उनी अहिले पनि काठमाडौँबाट प्रकाशित ‘द हिमालयन टाइम्स’ अङ्ग्रेजी दैनिक र झापाबाट प्रकाशित ‘नयाँ सन्दर्भ साप्ताहिक’ पत्रिकामा नियमित समाचार लेखन र सम्पादन गरिरहेका छन्।

असी वर्षे पाको उमेरमा यसरी मोटरसाइकल हाँकेर गाउँ गाउँ पुग्ने झापाका अग्रज पत्रकार छेत्रीको जोस, जाँगर र पत्रकारिताप्रतिको लगाव उनीको नाति पुस्ताका पत्रकारहरुका लागि प्रेरणादायी बनेको छ।

कुनै ठूलो घटना भयो या कुनै सभाको आयोजना भएको थाहा पाउने बित्तिकै उनी समाचारका लागि घटनास्थलमै पुग्छन्।

नयाँ पुस्ताका पत्रकारहरु फिल्डमा जाँदा छेत्रीलाई पछ्याउन रुचाउँछन्। सक्रिय पत्रकारिता जीवनको ५५ वर्षे अनुभवहरु सुन्न र जान्न समेत नयाँ पुस्ताका पत्रकारहरु उनीसँगै रिपोर्टिङमा जाने गर्छन्।

पञ्चायतदेखि गणतन्त्रसम्मको अनुभव
२००१ जेठ २ गते धनकुटामा जन्मिएका छेत्री बुबा टेकबहादुर थापा र आमा कृष्णमाया थापासँगै १८ वर्षको किशोर उमेरमै भद्रपुर बसाइँ आएका थिए।

भद्रपुरको तत्कालीन मेची इन्टरकलेज (हाल मेची बहुमुखी क्याम्पस) मा स्नातक तहसम्म अध्ययन गरेका उनीले २०२५ सालमा भद्रपुरबाट प्रकाशित ‘युवक साप्ताहिक’बाट पत्रकारिता प्रारम्भ गरेका हुन्।

पञ्चायती व्यवस्थाको निरङ्कुश शासनकालदेखि प्रजातन्त्र र गणतन्त्रकालीन शासन व्यवस्थाको पत्रकारिताको अनुभव हासिल गरे।

‘निर्दलीय पञ्चायती व्यवस्थामा राज्य नियन्त्रित पत्रकारिता थियो,’ उनीले उसबेलाको पत्रकारिता अनुभव सुनाउँदै भने, ‘राजपरिवार र सत्ताधारी पञ्चहरुका बारेमा नकारात्मक समाचार लेख्यो भने सिधै मुद्दा लगाएर जेलमा कोचिदिन्थे। तैपनि कतिपय पत्रकारहरुले निडर भएर सत्ताको विरोध र प्रतिबन्धित राजनीतिक दलहरुको समर्थनमा समाचार र विचार सम्प्रेषण गर्दथे।’

अहिले प्रविधिमा आएको क्रान्तिले पत्रकारिता गर्नका लागि सहज माध्यम र उपकरणहरु उपलब्ध भएको उनीको बुझाइ छ। अहिलेजस्तो हातहातमा मोबाइल, कम्प्युटर र इन्टरनेट नभएको जमानामा हातैले लेखेका समाचारलाई चिट्ठीमा हालेर हुलाकबाट काठमाडौँमा रहेको पत्रिकाको कार्यालयमा पठाउने गरेको उनीको कतिपय अनुभूति सुन्दा धेरैलाई दन्त्यकथा जस्तो लाग्छ। ‘समाचार लेखेर हुलाकबाट पत्रिकाको कार्यालयमा पठाउनु पथ्र्यो,’ उनीले सुनाए, ‘हप्तामा एउटा बार पत्रिका प्रकाशित हुन्थ्यो। हुलाकबाट पठाउँदा ढिलो हुन्छ भन्ने लाग्यो भने चन्द्रगढीमा आकाशवाणी (आवा) को अफिसमा गएर छोटो साङ्केतिक खबर पत्रिकाका सम्पादकलाई पठाउँथ्यौँ।’

छेत्रीले पत्रकारिता गरेको सुरुका दुई दशकसम्म आम नेपालीमा रेडियो र टिभीको पहुँच न्यून थियो। सडकहरु बनेका थिएनन्। बनेका सडकमा पनि पुल थिएनन्। यातायातका साधन नहुँदा दिनभरि हिँडेर फिल्ड रिपोर्टिङ गर्नु परेको उनीले बताए। स्थानीय पत्रपत्रिका र पत्रकारहरुको सङ्ख्या पनि थोरै थियो।

झापामा पत्रकारिताको पहिलो अभ्यास गर्ने ऐतिहासिक व्यक्ति स्व श्यामकृष्ण उपाध्याय थिए। उनीले २०१० सालमा पहिलो साप्ताहिक पत्रिका ‘केटो’ र २०२१ सालमा दोस्रो पत्रिका ‘युवक’ प्रकाशित गर्नुभएको थियो। पत्रकार छेत्रीले स्व श्यामकृष्ण उपाध्यायलाई गुरु मानेर ‘युवक’बाट पत्रकारिता थालनी गरे। उपाध्यायले २०२७ सालदेखि ‘आलोक’ नामक अर्को साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरे। ‘आलोक’मा छेत्री लामो समय कार्यरत भए।

पञ्चायतकालमा भद्रपुर झापाको प्रशासनिक र राजनीतिक सदरमुकाम मात्र नभएर पत्रकारिता र साहित्यको समेत केन्द्रविन्दु थियो। अधिकांश पत्रपत्रिका भद्रपुरबाटै प्रकाशित हुन्थे।

२०३० सालमा भद्रपुरबाट चुडामणि रेग्मीले ‘युगज्ञान’ नामक साप्ताहिक पत्रिका सुरु गरे। तर रेग्मी मेची क्याम्पसको प्राध्यापकसमेत रहेको हुँदा प्रशासनले उनीलाई पत्रिकाको सम्पादक बन्न विभिन्न बाधा–व्यवधान खडा गर्‍यो। त्यहीबेला छेत्रीले ‘युगज्ञान’को सम्पादक बनेर पत्रकारितालाई अघि बढाए।

उनीले पञ्चायतकालीन काठमाडौँको ‘नयाँ सन्देश’, ‘जनमञ्च’, ‘विमर्श’लगायत लोकप्रिय र प्रजातान्त्रिक धारका पत्रपत्रिकामा समाचारदाता बनेर काम गरे। निर्दलीय कालका नरोकिएको उनीको पत्रकारिता यात्रा २०४६ सालमा प्रजातन्त्र बहालीपछि झन् उर्वर बनेर अघि बढ्यो।

२०४९ देखि २०५२ सालसम्म गोरखापत्र दैनिकमा झापा समाचारदाता बन्नुभएको उनीले त्यसपछि गृहजिल्लामै नयाँ पत्रपत्रिका स्थापना गरेर नेतृत्व गरे। २०५२ सालमा उनीकै सम्पादकत्वमा ‘पूर्वाञ्चल दैनिक’को प्रकाशन आरम्भ भयो। विर्तामोडबाट प्रकाशित ‘अर्जुनधारा दैनिक’को उनी संस्थापक प्रधान सम्पादक थिए।

भद्रपुरको पहिलो रेडियो ‘नागरिक एफएम’को उनी संस्थापक प्रबन्ध सम्पादक थिए। उनीले राजधानीबाट प्रकाशित ‘अन्नपूर्ण पोष्ट’को समेत झापा समाचारदाता भएर कार्य गरे।

हाल भद्रपुरबाट उनीकै प्रधान सम्पादकत्वमा ‘नयाँ सन्दर्भ साप्ताहिक’को नियमित प्रकाशन भइरहेको छ। स्थानीय पत्रिकासँगै उनी हाल काठमाडौँको अङ्ग्रेजी दैनिक ‘द हिमालयन टाइम्स’मा कार्यरत छन्।

पत्रकारिताका अथक योद्धा
समाजको ऐना मात्र नभएर पत्रकारिताले समाज रुपान्तरणको माध्यमका रुपमा पहिचान बनाएको छ। पत्रकारिता लोकतन्त्रको मानक भए तापनि विभेदकारी बन्न नहुने उनीको दृढ धारणा छ। पञ्चायतकालमा सत्ता पक्षधरताले प्राथमिकता पाए जस्तै अहिले राजनीतिक दलहरुको पक्षधरताले गर्दा पत्रकारिता जनमुखी बन्न नसकिरहेको उनीको भनाइ छ।

नेपालका पुराना पत्रकारहरु हरिहर विरही, किशोर नेपाल, धर्मेन्द्र झा, शिवबहादुर कार्की, रमेशनाथ पाण्डे लगायतको समकक्षी पत्रकार गोविन्दचन्द छेत्रीले २०३१ सालमा मेची अञ्चल पत्रकार सङ्घको पहिलो सभापति बनेर पत्रकारिता क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गरे।

उनी २०४९ सालमा नेपाल पत्रकार महासङ्घ झापाको एक कार्यकाल अध्यक्ष, २०६१ देखि २०६७ सम्म नेपाल प्रेस युनियन झापाको दुई कार्यकाल सभापति, २०६५ देखि २०६७ सम्म नेपाल पत्रकार महासङ्घको केन्द्रीय सल्लाहकार र २०७३ सालमा प्रेस क्लब भद्रपुरको अध्यक्ष भए।

पञ्चायतकालमा प्रजातन्त्र बहालीका लागि पत्रकारिताको माध्यमबाट भूमिका निर्वाह गर्नुभएको छेत्रीले जनप्रतिनिधि र शिक्षकका रुपमा पनि सेवा गरे। २०३८ सालमा भएको नगर निर्वाचनमा उनी प्रजातन्त्र पक्षीय उम्मेदवार बनेर भद्रपुर नगरपञ्चायतको उपप्रधानपञ्च निर्वाचित भए।

‘जनप्रतिनिधि र शिक्षक भएर काम गर्दा पनि मैले पत्रकारिता पेसालाई भने अक्षुण्ण राखेँ,’ उनले भने, ‘२०३९ सालमा म कार्यवाहक प्रधानपञ्च बनेको थिएँ। त्यहीबेला बिपी कोइरालाको निधनको खबर आयो। नगर पञ्चायतमा केही सदस्यको विमति हुँदाहुँदै मैले बिपीको निधनमा शोक व्यक्त गर्न एक दिन नगरपालिका बिदा गर्ने घोषणा गरेँ। धेरैले मेरो यो निर्णयलाई अविस्मरणीय मानेका छन्।’

पत्रकारिताले परिवारको गर्जो टार्दैन भन्ने बुझ्दाबुझ्दै पनि उनीले पेसाबाट कहिल्यै पलायन हुने सोच राखेनन्।

बरु अरू पेसा समेत गरेर पत्रकारितालाई धानिरहे। २०२१ देखि २०२८ सम्म उनी भद्रपुरको शारदा माध्यमिक विद्यालयमा शिक्षक थिए। राजनीति र शिक्षण पेसामा प्रशस्त अवसर हुँदाहुँदै पनि उनले पत्रकारितालाई नै आजीवन पेसा बनाइरहे।

पत्रकारितामा पुर्याएको योगदानको कदरस्वरुप सङ्घसंस्थाहरुबाट उनीलाई विभिन्न पुरस्कार र सम्मान प्रदान गरिएको छ। त्यसो त पत्रकारिताकै कारण सत्ताधारीहरुले उनीलाई हिरासतमा राखेका छन् भने मुद्दा लगाएका छन्।

‘२०२५ सालतिर झापामा एसपी शैलेन्द्र काण्ड मच्चियो। भद्रपुरमा सरकारविरोधी जनप्रदर्शन चर्कियो,’ उनीले पुरानो घटना सम्झँदै भने, ‘अञ्चलाधीश मनमोहन मिश्रको आदेशले मलाई पक्राउ गरियो। अञ्चलाधीश र जिल्ला प्रहरी कार्यालयमा बयान दिनुपर्यो‍। त्यसबेला पञ्चायतको विरोध गरेको आरोपमा सिधै जेल पठाउने चलन थियो।’

युगज्ञान साप्ताहिकको सम्पादक रहेको बेला ‘जिल्ला पञ्चायत सदस्य मोहनलाल अग्रवाल फरार’ भएको भन्ने समाचार प्रशासनले झुटो जानकारी दिएर प्रकाशित गर्न लगाएको थियो।

त्यसको खण्डन छाप्दा अञ्चलाधीशले झुटो मुद्दा लगाएर उनीलाई एक महिनासम्म तारिख धाउन बाध्य बनाए। २०६२/६३ सालको दोस्रो जनआन्दोलनका बेला सत्ता हत्याउने माघ १९ को शाही कदमको विरोधमा नेपाल पत्रकार महासङ्घ झापाको आयोजनामा चन्द्रगढीमा प्रदर्शन गर्दा उनीसमेत दर्जनौँ पत्रकारलाई तत्कालीन शाही सरकारले पक्राउ परेर एक दिन हिरासतमा राखेको नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य मोहन काजीले बताए।

छेत्रीले कोशी प्रदेश पत्रकारिता पुरस्कार, श्यामकृष्ण स्मृति पत्रकारिता पुरस्कार, एसएल शर्मा स्मृति पत्रकारिता पुरस्कार, ओमसाई पाथीभरा स्वास्थ्य पत्रकारिता पुरस्कार, आर्थिक पत्रकारिता पुरस्कार, भद्रपुर नगर पत्रकारिता पुरस्कार, मोतिराम पत्रकारिता पुरस्कारलगायत दुई दर्जनभन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन्। –रासस

प्रकाशित: २०८० चैत २७ गते मङ्गलबार ०४:२०
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना