कटारी- उदयपुरको कटारी नगरपालिका-१०, थुम्की गाउँका दुईघर आगलागी पीडित परिवार तीन दिनदेखि त्रिपालमुनि रात कटाउँदै आएका छन्। सोमबार दिउँसो आगलागीबाट घरगोठ जलेर नष्ट भएपछि ७४ वर्षीय गुमानसिंह थापा मगर र ७२ वर्षीय नारायणबहादुर थापा मगर परिवारको बिचल्ली भएको हो।
आगलागीले घरविहीन भएपछि कटारी नगरपालिकाले मङ्गलबार त्रिपाल पठाएको थियो। ‘अहिले उहाँहरु त्यही त्रिपालमुनि रात कटाइरहनुभएको छ’, स्थानीय ककनी टोल विकास संस्थाका सचिव धर्म खनालले भने, ‘हावाहुरी आयो र पानी प-यो भने विचल्ली हुने अवस्था छ।’
अर्का बेचन थापा मगरको भने मतान जलेको थियो। उनको मतानमा रहेको सरसामानसँगै १८ वटा खसीबाख्रा मरेका थिए। आगलागीबाट अन्नपात, नगद, भाँडाकुँडा, लत्ताकपडा गरी झण्डै रु ६५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष राईले बताए।
आगलागीबाट ठूलो क्षति भएको र उनीहरुको अवस्था दयनीय भएको कटारी-१० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताए। आर्थिक अवस्था कमजोर भएकाले आगलागी पीडितलाई त्रिपालको व्यवस्था गरिएको उनले जानकारी दिए।
स्थानीयवासीका अनुसार लत्ताकपडा र दैनिक उपभोग्य वस्तु विभिन्न संस्थाले सहयोग गरेका छन्। पीडित परिवारमा वृद्धवृद्धा भएकाले त्रिपालमुनिको बास कष्टप्रद बनेको छ।
आगलागीमा परी घाइते भएका स्थानीय शङ्कर भुजेल उपचारपछि घर फर्किएका छन्। आगोले उनको आँखामा चोट लागेको थियो। घटनास्थल उदयपुरको पश्चिम-उत्तर भेगमा पर्छ।


