हनोई- रियल स्टेट व्यवसायी ट्रुओङ माई ल्यानलाई बिहीबार भियतनामको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।
अदालतले १२ अर्ब ५० करोड अमेरिकी डलरको ठगी गरेको र सरकारी अधिकारीहरूलाई घुस खुवाएको मुद्दामा दोषी ठहर भएको भन्दै अदालतले मृत्युदण्डको सजाय सुनाएको अलजजिराले बताएको छ।
सन् २०१२ र २०२२ को बीचमा ६७ वर्षीया ल्यानले गैरकानूनीरूपमा साइगोन ज्वाइन्ट स्टक कमर्सियल बैंकको व्यवस्थापन गर्दा हजारौँ फर्जी फर्महरूमार्फत रकम ठगी गरेको र सरकारी अधिकारीहरूलाई घुस खुवाएको आरोप थियो।
ल्यानले आफूमाथि लगाइएको आरोपहरूको खण्डन गरेकी थिइन्। अलजजिराका अनुसार उनले गत साता अदालतमा आफ्नो अन्तिम बयानमा आत्महत्याको विचार आएको कुरा स्वीकार गरेकी थिइन्। ‘मलाई थोरै ज्ञान भएको अत्यन्त प्रतिस्पर्धी उद्योग बैंकिङ क्षेत्रमा प्रवेश गर्ने साहस गरेकामा मलाई अत्यन्त रिस उठेको छ,’ उनले भनेकी थिइन्, ‘मैले निराश भएर आत्महत्याबारे पनि सोचेकी थिएँ।’
प्रमुख डेभलपर वान थिन्ह फाटका अध्यक्ष ल्यानलाई बिहीबार हो-चि-मिन्ह सिटीमा सुनुवाइको अन्त्यमा घोटाला, घुसखोरी र बैंकिङ नियमहरूको उल्लङ्घन गरेको दोषी पाइएको अदालतले उल्लेख गरेको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अलजजिराले बताएको छ।
गत वर्ष सन् २०२२ मा ल्यानको गिरफ्तारी सन् २०१६ मा सुरु भएको भ्रष्टाचारविरोधी अभियानमा सबैभन्दा हाई–प्रोफाइल गिरफ्तारीमध्येको एक थियो। सन् २०२२ पछि उक्त अभियानले गति लिएको थियो।
कथित ब्लेजिङ फर्नेस अभियानको परिणामस्वरूप सयौँ अधिकारीहरूलाई दण्डित वा कारागार सजाय गरिएको छ।


