पोखरा- गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेको छ। शनिबार प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि अधिकारी नेतृत्वको एमाले सरकार ढलेको हो।
एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री अधिकारीले शनिबार प्रदेशसभा बैठकमा विश्वासको मत माग गरेका थिए। तर उनले विश्वासको मत पाउन नसकेका हुन्।
६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री अधिकारीको पक्षमा २४ मत परेको थियो। उक्त संख्या प्रदेशसभाको बहुमत नभएको भन्दै मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएको प्रदेशसभाले घोषणा गरेको छ। अधिकारीलाई एमाले, स्वतन्त्र र राप्रपाका सांसदले मतदान गरेका थिए।
मुख्यमन्त्री अधिकारीको विपक्षमा ३५ मत परेको छ। मतदान प्रक्रियामा ५९ जना सहभागी थिए। निर्णायक अवस्थामा मात्र सभामुखलाई मताधिकार हुन्छ। अधिकारीको विपक्षमा कांग्रेस र माओवादीका सांसदले मत दिए।
यसअघि अधिकारीलाई नेकपा माओवादी र राप्रपाले समर्थन गरेका थिए। तर संघमा नयाँ गठबन्धन बनेपछि गत चैत १० गते माओवादीले अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको थियो।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था छ। ३० दिनको अवधि वैशाख १० गते (आज) पुगेपछि अधिकारीले विश्वासको मत मागेका थिए। तर आवश्यक बहुमत नपुगेपछि गण्डकीमा एमाले सरकार ढलेको हो।
प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन्।
यसअघि सुदूरपश्चिम प्रदेशमा पनि एमाले नेतृत्वको सरकार ढलेको थियो। सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पनि विश्वासको मत नपाएपछि कांग्रेसको नेतृत्वमा सरकार बनिसकेको छ।


