काठमाडौँ- नेपाल विद्यार्थी संघ रत्नराज्यलक्ष्मी क्याम्पस इकाईले गृहमन्त्री रवि लामिछानेको पुतला दहन गरेको छ।
सहकारी ठगीमा संलग्न भएको आरोप लागेका गृहमन्त्री लामिछानेको राजीनामा माग्दै पुतला दहन गरिएको नेविसंघले जानकारी दिएको छ।
लामिछानेले तत्काल राजीनामा दिएर अनुसन्धान तथा छानबिनलाई सघाउनुपर्ने उनीहरूको भनाइ छ।
रविले राजीनामा नदिएसम्म आन्दोलनका कार्यक्रम जारी रहने नेविसंघको भनाइ छ।
नेविसंघको मातृदल नेपाली कांग्रेसले रविमाथि छानबिन गर्नुपर्ने माग उठाउँदै आएको छ।
तर प्रधानमन्त्री पुष्पकमल दाहालले रविलाई चोख्याइसकेका छन्। अर्को सत्तासाझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि रविले कुनै ठगी नगरेको स्पष्टीकरण संसदलाई नै दिइसकेका छन्।
तर पछिल्लो समय बुटबलको सुप्रिम सहकारीको समस्याका विषयमा प्रहरी अनुसन्धानबाट लामिछानेले २ करोड कर्जा लिएको तर उनलाई प्रतिवादी नबनाइएको विषय सार्वजनिक भएपछि एमालेभित्र पनि रविमाथि छानबिन गर्नुपर्ने माग आन्तरिक रूपमा उठ्न थालेको छ।














