काठमाडौँ- घाना, नाइजेरिया र क्यामरुनलगायत अफ्रिकी देशका खेलाडी व्यावसायिक फुटबल खेल्न नेपाल आउजाउ गरिरहन्छन्। कति खेलाडी एक सिजनका लागि आउँछन्, त कति दोहोर्याएर। नेपालमा आजसम्म कति विदेशी खेलाडीले व्यावसायिक फुटबल खेले, त्यसको यकिन विवरण छैन। तर धमिलो रूपरेखा कोर्न सकिन्छ।
नेपालमा पछिल्लो समय विदेशी खेलाडी ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका सुगन तण्डुकार २०६० को दशकबाट नेपालमा खेलाडी आउनेक्रम चलेको बताउँछन्।
‘मैले जानेअनुसार २०६२ बाट सहिद स्मारक लिगमा विदेशी खेलाडी आउने क्रम सुरु भयो। उतिबेला बोइज युनियन क्लब (बीबीसी)ले नाइजेरियाका राम्रा खेलाडी ल्याएको थियो,’ अफ्रिकाबाट खेलाडी ल्याउने अनुभवी एजेन्ट तण्डुकारले भनेका छन्, ‘त्यसबेला अल्बर्ट, लाबो र फिभोल नाम गरेका खेलाडी आएका थिए।’
उनका अनुसार त्यो सिजनमा बीबीसी पहिलो लेगमा ५ अंक मात्र बनाएर रेलिगेसन दबाबमा परेको थियो। विदेशी खेलाडी ल्याएपछि उसले थप २२ अंक जोड्न सक्यो। जम्मा २७ अंक बनाएर बीबीसी रेलिगेसनबाट मात्रै बचेन, अंक तालिकामा राम्रो स्थानमा टिक्न सक्यो। ती खेलाडीलाई दक्षिण एसियाका फुटबल लिजेन्ड श्याम थापा (पहिले बीबीसीकै खेलाडी)ले नेपाल पठाएका थिए। त्यसपछि बाँकी क्लबहरुले पनि खेलाडी ल्याउन थाले।
ए डिभिजन लिगका डाइरेक्टर र फुटबलविद् सञ्जीव मिश्रका अनुसार विदेशी खेलाडीले नेपालमा लिग खेलेको ४० वर्ष लामो इतिहास छ। तर, त्यो इतिहासको चित्र भने प्रष्ट छैन।
‘ठ्याक्कै मैले सम्झिएको चाहिँ २०४० सालतिर को कुरा हो। उतिबेला खेलाडी ट्रान्सफर भन्ने त थिएन। तर एनआरटी (न्यु रोड टिम)मा जर्मनीका खेलाडी खेल्थे। ती खेल हुँदा म पनि सानै थिएँ। त्यो अवस्था कस्तो थियो मज्जाले त थाहा भएन। तर, उनीहरु भिजिट भिसामा आएर खेलेको हुनसक्छ,’ फुटबलविद् मिश्र भन्छन्।
एक सिजन एनआरटीले डेनमार्क र ब्राजिलका खेलाडी ल्याएको उनी सम्झन्छन्। ‘एक सिजन एनआरटीले डेनमार्कका (मोसाबी), ब्राजिलको खेलाडी ल्याएर ए डिभिजन लिगमा खेलाइसकेको छ। ती खेलाडी नेपाली खेलाडीको तुलनामा निकै कलात्मक खेल्थे र सुन्दर खेले पस्किन्थे,’ मिश्रले तीन दशक अघिको कुरा सम्झिँदै भने, ‘मैले थाहा भएको अनुसार विदेशी खेलाडी ल्याउने एनआरटी पुरानो क्लबमा पर्छ।’

थ्री स्टारका पिटर सेगुन र अजय मार्टिन्स।
मोसाबीलाई भने क्लबले आफैं नेपाल ल्याएको थिएन। बाबुआमा डेनिस एम्बेसीमा जागिरे थिए। जसका कारण उनी नेपालमै बस्थे। उनको चासो फुटबलमै भएका कारण उनले एनआरटीबाट खेलेका थिए।
त्यो समयका धेरै कुरा त मिश्रलाई पनि थाहा छैन। तर, थ्रीस्टारले २०५४ मा लिग जित्दा जितेन राई र क्रिस्टेन क्षेत्री नाम गरेका भुटानी खेलाडी नेपालमा आएर खेलेका याद उनलाई छ। यसले पनि नेपालमा खेलाडी आउने र खेल्ने परम्परा कत्तिको पुरानो हो भन्ने बुझ्न सकिन्छ।
त्यो बेला सञ्जीव लगायतका फुटबलरहरुले काठमाडौं क्लब चलाएका थिए। त्यो क्लबले पनि विदेशी खेलाडी ल्याएर खेलाउँथ्यो। ‘हामीले काठमाडौं क्लबमा रोडल्फो टोरेज नाम गरेका अर्जेन्टिनी प्रशिक्षक ल्याएका थियौँ। त्यस्तै, २०६०/६१ सालमा चाहिँ अमेरिकाका टेन विलियम्स र अर्का एक जना गोलकिपर ए डिभिजन लिगमा खलाएका थियौँ,’ उनी सम्झिन्छन्।
नेपालमा अफ्रिकी खेलाडी लगातार आउन सुरु गरेको भने २०६० को दशकदेखि नै हो। ‘जब आधुनिक फुटबल सुरु भयो। त्यसपछि नियमित रूपमा विदेशी खेलाडी भित्र्याउन थालियो। नियमित र राम्रा विदेशी खेलाडी ल्याउनेमा मनाङ र थ्रीस्टार अगाडि छन्। जुन ०६० को दशकयता निरन्तर छ,’ उनले भने।
तीन दशकदेखी नेपाली फुटबल पछ्याइरहेकाहरुलाई थाहै होला, उतिबेला ओभाक जुनियर नाम गरेका खेलाडी थिए। उनी अहिले लिग खेलिरहेका आलोवाले अफिजजस्तै चर्चित र उत्कृष्ट थिए। उनले लामै समय नेपालमा बिताए। मुम्बारा, बेबेरो जुनियर, लियोन्सो डोडोज, नुरुद्दीनलगायतका खेलाडीले दुई/तीन सिजन नेपालमा खेलेका थिए। डोडोजले चाहिँ एक सिजन मात्र खेले। तर, त्यो एक सिजनमा उनले पस्किएको खेल हेर्ने जो कोही लोभिए। तर, उनी फेरि नेपाल आएनन्।
‘भिजिट भिसामा आउँदा खेल्ने मौका पनि पाइने, पैसा पनि पाइने स्थिति थियो। तर, अहिले त सबै प्रक्रिया पूरा गर्न पर्छ,’ सुगनले भन्छन्। ६० को दशक यता भने प्रक्रिया पुरा गरेर लिग खेल्न आउने खेलाडीको संख्या बढ्न थाल्यो।
तर, विभागीय क्लबहरुले लामो समय यस्तो अभ्यास गरेनन्। तर, गत वर्षबाट विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम विभागीय टिममा समेत सुरु भइसकेको छ। अहिलेसम्म विदेशी खेलाडी नखेलाउने टिम त आर्मी मात्रै त हो।
नेपाली लिगमा विदेशी खेलाडी हरेक टिमको अभिन्न पाटो बनिसकेका छन्। क्लबले योजना बनाउँदै कति महँगा र कस्ता विदेशी खेलाडी ल्याउने भन्ने कुराले उसले आउँदो लिगमा कस्तो प्रदर्शन गर्छ भन्ने आकलन गर्न सकिन्छ। यसै वर्ष पनि खुमलटार क्लबले युवा खेलाडी राखेर मध्य टेबलमा रहने गरी लिग खेल्ने योजना बनाएको थियो।

एपीएफका पेपे र मच्छिन्द्रका सुजुकी।
यसैबीचमा उनले नेपालमा चलेका मेसुके ओलुमेउ र स्टेफेन समिर विनोङलाई अनुबन्ध गर्न सक्यो। त्यसपछि उसले आफ्नो योजना नै परिवर्तन गर्यो। टिममा राम्रा विदेशी खेलाडी भएकै कारण उपाधिका लागि लड्ने दाबी गर्यो। यद्यपि उसको योजना सफल भने देखिएको छैन।
‘यो लिगमा विदेशी खेलाडी नै सबै क्लबका मेरुदण्ड हुन्। उनीहरुले नै टिमको लिड गरिरहेका छन्। हामीले दुई जना मात्र विदेशी खेलाडी अनुबन्ध गर्न सक्यौं। त्यसको असर नतिजामा देखिइरहेको छ,’ गत आइतबार सातदोबाटोसँग २–२ को बराबरी खेलेपछि हिमालयन शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले भनेका थिए।
हिमालयन शेर्पा अहिले रेलिगेसन जोनमा छ। रेलिगेसन क्षेत्रमा रहेको अर्को क्लब हो- नेपाल पुलिस क्लब। उसँग पहिले विदेशी खेलाडी थिएनन्। तर लगातार हार बेहोरिरहेपछि दुई साता अघि मात्र तीनजना विदेशी खेलाडी (सर्ज डिका, मोसेस ज्याबहा टुम र जोइ आइडू) लाई अनुबन्ध गरेको छ। उसले विदेशी खेलाडीलाई डेब्यू गराएपछि मनाङ माथि १–० को जित नै निकाल्न सक्यो।
यो वर्ष पुलिसको जस्तो अवस्था छ, अघिल्लो वर्ष एपिएफको अवस्था उस्तै थियो। त्यसैले एपिएफले पनि विदेशी खेलाडी अनुबन्ध गरेको थियो। उसले गत सिजन युरा कुरियामा, पेपे र आडमो डोउम्बियालाई अनुबन्ध गरेको थियो। यसरी विभागीय क्लब पनि विदेशी खेलाडीको शक्तिमा बलियो बनिरहेका छन्। क्लबका शक्ति बनेका विदेशी खेलाडी आउने/जाने गरिरहन्छन्। तर केही यस्ता विदेशी खेलाडी पनि छन्। जसले लामो समय देखी नेपालमा व्यवसायिक फुटबल खेलिरहेका छन्।
ओलावाले अफिज
विदेशबाट आएर नेपाली फुटबलमा राज गरेका फरवार्ड हुन्, ओलवाले अफिज। उनले नेपालको जुनसुकै भूगोल, जुनसकै वातावरण र अवस्थामा फुटबल खेलिसकेका छन्। नाइजेरियाका यी खेलाडी सन् २०१२ (२०६६) ताका नेपाल आएका थिए। उनी नेपाली फुटबलमै रमाइरहेका छन्। नेपालमा जस्तो प्रतियोगिता हुन्छ, उनी त्यस्तै खेल्छन्। उनी धेरै समय नेपालमै बस्छन्।

अफिज।
उनले २०६६/६७ सालमा आरसीटी (रानीपोखरी कर्नर टिम) बाट खेले। त्यसपछि संकटा, थ्रीस्टार हुँदै मनाङ मर्स्याङ्दीमा लामो समय खेले। अहिले उनी मछिन्द्रबाट खेलिरहेका छन्।
ओलावालेले मोफसलका सबैजसो गोल्डकप खेलिसके। धनगढीको खप्तड गोल्डकप देखि इलामको माइभ्याली गोल्डकपसम्म खेलिसकेका उनले गोल नगरेको मैदान सायद कमै होलान्। ती सबै प्रतियोगितामा दर्शकका प्रिय खेलाडीसमेत बनेका छन् ओलावाले।
मनाङको सफलतामा लामो समय रमाएका पात्र हुन्, ओलावाले। उनले जारी लिगमा पहिलो ह्याट्रिक गरेका थिए। उनले खुमलटारविरुद्ध एकै खेलमा पाँच गोल गरेका छन्।
मार्टिन्स कोयोदे अजयी र पिटर सेगुन
पिटर सेगुनका निकै मिल्ने साथी हुन्, मार्टिन्स कोयोदे। उनीहरु २०७० मा नेपाल आएका हुन्। नेपाली फुटबलमा निकै अनुशासित खेलाडीमा पर्छन यी दुई। उनीहरु क्लबमा अनुबन्ध हुन्छन्, आउँछन्, खेल्छन्, अनि सोझै घर फर्किन्छन्। लिगभरी नेपालमा बिताउँछन्। तर, अरुबेला बसिरहँदैनन्। उनी धेरै जसो प्रशिक्षक मेघराज केसीको टिममा खेलिरहेका देखिन्छन्। अघिल्लो वर्ष मेघराज सातदोबाटोमा हुँदा पनि उनीहरु सातदोबाटोमा नै थिए।
नेपालमा लामो समयदेखि खेलिरहेका यी खलाडीले जावलाखेलबाट पनि खेलिसकेका छन्। साथै थ्रीस्टारबाट अहिले खेलिरहेको यो जोडी संकटा र मछिन्द्रको जर्सीमा पनि देखिएको थियो। यी खेलाडी अहिले मेघराज केसीकै प्रशिक्षणमा थ्रीस्टारबाटै खेलिरहेका छन्। नाइजेरियाका यी खेलाडी भारतबाट १० वर्षअघि आफैं नेपालसम्म आइपुगेका थिए।
साहिद अजिज
साहिद अजिज पनि नेपाली फुटबलमा ओलावाले जत्तिकै पुराना खेलाडी हुन्। १० वर्ष अघिको ए डिभिजन लिगमा उनले एनआरटीबाट खेलेका थिए। २०७१ मा उनले मनाङमा खेले। बीचमा नेपालमा लिग नै भएन। त्यसपछि उनी बहाराइन हानिए र केही वर्ष बहराइनकै लिग खेले।

अजिज।
नेपालमा नियमित लिग सुरु भएपछि उनी नेपाली फुटबलमा देखिन थाले। यो सिजन उनले मनाङबाट खेलिरहेका छन्। उनी नेपाली फुटबल दर्शकले देखेको पुराना विदेशी खेलाडी हुन्।
अरमान्ड बेडोम
बेडोम नेपाल आएका तीन वर्ष भएको छ। उनी २०७५ (भूकम्पकका कारण लामो समय रोकिएर लिग सुरु भएपछि) नेपाल आएका खेलाडीमा पर्छन्। पहिलो सिजन उनले खेल्नै पाएनन्। पहिलो सिजन च्यासलमा आउँदा गुमनाम जस्तै रहे, किनभने कोभिडको कारण लिग नै भएन। त्यसपछि घर गएर पुनः नेपाल आए।
अनि, नेपालमै बसेपछि उनी फुटबलमा छाउन थाले। कोभिडकै समयमा उनले बुटबल लुम्बिनीबाट नेपाल सुपर लिग(एनएसएल) खेले। सन् २०१८ तिर नेपाल आएका खेलाडी नेपाली फुटबलमा देखिइरहन्छन्। अहिले चाहिँ विभागीय टिम एपिएफ क्लबबाट खेलिरहेका छन्।
मेसुके ओलुमेउ र स्टेफेन समिर विनोङ
मेसुके र स्टेफेन विनोङ पनि २०७५ सालयता नेपालमा खेलिरहेका छन्। तर उनीहरुको चर्चा २०७७ को नेपाल सुपर लिग(एनएसएल)बाट मात्र भयो। काठमाडौं रेजर्सबाट लगातार गोल गर्दै जित निकालेपछि उनीहरुको चर्चा चुलिएको थियो। मेसुकेले त एकपटक ‘नियर्ली इम्पोसिबल एंगल’बाट समेत गोल गरेका छन्। उनी जुनसुकै स्टाइलमा पनि गोल गर्न सफल खेलाडी मानिन्छन्।

मेसुकेको सेलिब्रेसन।
एनएसएल खेल्नुअघि यी खेलाडीले संकटा र हिमालयन शेर्पाबाट लिग खेलेका थिए। गत साल एनआरटीबाटसँगै खेलेका उनीहरुले यो वर्ष खुमलटारबाट खेलिरहेका छन्। तर एनएसएलमा जस्तो ए डिभिजन लिगमा उनीहरु चम्किएका छैनन्। यद्यपी पछिल्लो सिजन एनआरटीलाई तेस्रो स्थानमा पुर्याउनको लागि यी दुई खेलाडीले धेरै मेहेनत गरेका थिए।
यी दुई खलाडीलाई अनुबन्ध गर्न पाएपछि नै यो वर्ष खुमलटारले लिगको उपाधि जित्ने लक्ष्य राखेको थियो। तर अहिले खुमलटार रेलिगेसन जोन नजिक छ।
फोडे फोफाना
फोडे फोफाना पहिलो सिजन जावलाखेल, दोस्रो सिजन संकटा अनि फेरि जावलाखेलमा फर्किएका छन्। उनी पनि २०७५ यता नेपाल नेपाल आएका खेलाडीमा पर्छन्। उनले नेपालमा खेल्न थालेको चार वर्ष हुन लागिसकेको छ।
उनले नेपालका विभिन्न ठाउँमा खेलिसकेका छन्। मोफसलमा पनि थुप्रै क्लबबाट उनले खेलेका छन्। अहिले जवालोलबाट खेलिरहेका उनले क्लबलाई शीर्षस्थानमा पुर्याउनको लागि धेरै मेहेनेत गरिरहेका छन्।
आन्द्रेस नियाँ
नेपालमा अफ्रिकाबाट खेल्न आएको क्यामरुनी फुटबलर क्लब हो-डाफिन्स। त्यो क्लबबाट धेरै खेलाडी नेपालमा खेल्न आएका थिए। आन्द्रेस नियाँले पनि त्यही क्लब मार्फत नेपालमा पाइला टेके। उनले नेपालमा तीन सिजन विताइसकेका छन्। अहिले मछिन्द्रबाट खेलिरहेका छन्, नियाँ। उनले यसअघि मछिन्द्रलाई दुई पटक उपाधि दिलाइसकेका छन्। तेस्रो वर्ष लगातार उनी मछिन्द्रमा नै छन्।
नियाँजस्तै आन्द्रेस थेरी वियाक वियाक पनि डाफिन्सबाट खेल्न नेपाल आएको तीन वर्ष पुरा भएको छ। त्यसपछि उनले दुई वर्ष एनआरटीमा खेले भने यो वर्ष संकटा क्लबबाट खेलिरहेका छन्। जुनियर ओन्कुन्गा एन्केन्गेको पनि त्यही कथा हो। उनी पनि डाफिन्सबाट नेपाल आए अनि जावलाखेल, एनआरटी अनि यो वर्ष संकटा क्लबमा खेलिरहेका छन्।
फ्रांकलिन कुटे टेल्ला चाहीँ अफ्रिकन रुट्बाट फुटबल खेल्नको लागि नेपाल आएका थिए। पहिलो पटक उनले धनगढीमा फुटबल खेले। त्यहीँको टिमबाट। त्यसपछि उनी मनाङ गए। मनाङपछि अहिले चर्च बोइजमा खेलिरहेका छन्।
नेपालमा खेल्ने खेलाडीमध्ये ओमोलोजा नुर्लान करिमले पनि दुई सिजन खेलेका छन्। सुपर लिग खेल्न नेपाल आएका उनी यहाँ दुई सिजन मछिन्द्रबाट खेलेका छन्।
आडाम्बो गोउम्बियाले एक सिजन जावलाखेलबाट ए डिजिभन लिग खेलेका थिए। त्यसपछि गएको सिजनबाट उनले एपिएफमा जोइन गरे। उनी आएको पनि तीन वर्ष भने वितेको छैन। उनी लिग खेलुन्जेल यता बस्छन्, बाँकी समय स्वेदेश फर्किन्छन्।
तलब बचत गरेर घर पठाउँछन्
नेपाली लिग खेल्ने विदेशी खेलाडीले नेपालमा खासै खर्च भने गर्दैनन्। उनीहरुको खान, बस्नदेखि भीसा, प्लेन टिकेट, श्रमस्विकृतीको खर्चसमेत क्लबले बेहोर्दिने गरेका छन्। त्यसैले उनीहरुले पाएको तलब लगभग सबै बचाउँछन्।
अहिले नेपालमा खेलिरहेका अफ्रिकन खेलाडीलाई हेर्ने हो भने उनीहरुले मासिक एक हजार देखि २५ सय डलरसम्म आम्दानी गरिरहेका छन्। उनीहरुले पाउने तलब कर काटिने सगुन बताउँछन्। नेपालमा क्लबहरुले खेलाडी हेरेर कसैलाई ६ महिना त कसैलाई ५ महिनाको सम्झौता गर्छन्। यो वर्ष भने डबल राउन्ड रोबिनमा लिग भएको कारण विदेशी खेलाडीसँगको मस्झौता पनि लम्मिएको छ।
कस्तो खेलेर नेपाल आउँछन्?
खुमलटार क्लबको पोस्टमा मछिन्द्रले सात गोल गरेको दिन नाइजेरिया ओलावाले अफिजले पाँच गोल गरेका थिए। त्यसको एक खेल अघि मात्र मछिन्द्रको जितमा ओलावालेको गोल निर्णायक रह्यो। यद्यपी उनले दोस्रो हाफमा गोलका दुई सनौला अवसर गुमाए। एकपटक विमल घर्ती मगरको क्रसमा हेडर मिस गरे अर्को चाहीँ गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा गेल पोस्टको बारमा प्रहार गरे।
‘साधारण गोलमा पनि गल्ती गरिरहेको देख्दा दुख्छ नि! विदेशी खेलाडीले पनि गल्ती गरिरहेको देखिन्छ। फुटबल हो, भन्न सकिन्नँ। खेलाडीलाई नै माया गर्नु पर्यो,’ खेलपछि मछिन्द्रका प्रशिक्षक किशोर केसीले भनेका थिए। नेपाली प्रशिक्षकहरु विदेशबाट आउन खेलाडीले यस्तो गल्ती नगरोस् भन्ने चाहन्छन्।

थ्रीस्टारका मार्टिन।
त्यसैले राम्रो मूल्य दिएर अनुबन्ध गर्छन। राम्रो मूल्य दिएपछि खेलाडी पनि राम्रो नै चाहियो। अनि नेपालमा आएका खेलाडी हाम्रो भन्दा राम्रो नै देखेर लिने हो। त्यहाँ राम्रो प्रदर्शन गरेका खेलाडी नै नेपाल आएर खेल्ने गरेका छन्। धेरैजसो खेलाडीले नेपालमा पनि राम्रो प्रदर्शन गरिरहेका छन्।
आफ्नो देशको उमेर समूहको राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी पनि नेपाल आएर फुटबल खेल्ने गरेका छन्। अहिले नेपालमा उत्कृष्ट मानिएको मेसुके र स्टेफेन विनोङलाई पनि क्यामरुनको यू–२० टिममा बोलाइएका खेलाडी रहेको सगुन बताउँछन्। जुनियरले पनि क्यामरुनको उमेर समूहको टिमबाट खेलिसकेका छन्। अजिजले बहराइनमा शीर्ष डिभिजनको लिग नै खेलेका हुन्। ओलावालेले साउदी अरेबियामा समेत खेलेका हुन्।
उनी नेपाल आउनुपूर्व नाइजेरियामा पनि शीर्ष डिभिजनको फुटबल खेलेका थिए। तर नेपाल आएर उनी यतैको फुटबलमा खेल्न रुचाएका छन्। बियाक वियाकले पनि क्यामरुको पहिलो डिभिजनको फुटबल खेलिसकेका खेलाडी हुन्।
अहिले नेपालमा खेलिरहेका खेलाडी खासगरी चार प्रकारका छन्। पहिलो–लामो समय देखि नेपालमा खेलिरहेका छन्। यतै बस्छन् नेपालमा जस्तो प्रतियोगिता भयो, त्यस्तै नै खेल्छन्।
दोस्रो-जो नेपालमा अवसर पाए नेपालमा खेल्ने त्यसपछि भुटान, भारतलगायतका देशमा पनि खेल्न जान्छन्। उनीहरु मध्ये कतिपय फेरि नेपाल फर्किएका पनि छन्। कतिले खेल करिअर नै अन्त्य गरेका छन्।
तेस्रो–२०७५ को लिगपछि नेपाल खेल्न आइपुगेका। पछिल्लोसम्म नेपालमा मोफसलका धेरै प्रतियोगिता भइरहेको कारण ती अफ्रिकी खेलाडी नेपालमा बसेर विभिन्न प्रतियोगिता खेल्दै आइरहेका छन्। त्यस्तो खेलाडीमा पर्छन्-फोडो फोफाना, जुनियर, फ्रांकलिनलगायत।
चौथो-सबैभन्दा पुराना। ती खेलाडी हुन्, ओलावाले। अनि यो वर्ष आएका नयाँ अनुहारमध्ये सातदोबाटो युवा क्लबले ल्याएको छ, उज्जवेकिस्तान र सर्बियाका खेलाडी। उज्वेकिस्तानका सर्दोबेल मुत्मुदेवले र सर्बियाका इभान पेरिसिचले नेपालमा लिग खेलिरहेका छन्। यसबाहेक मनाङले पहिले बार्सिलोनाबाट खेलेका डिफेन्डरलाई अनुबन्ध गरेको छ।



