काठमाडौँ- नेपालका दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपतिको कार्यालय भवन शीतल निवास पुगेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै उनी शीतल निवास पुगेका हुन्।
मंगलबार विमानस्थलमा उत्रिएलगत्तै राजा थानीलाई लिएर राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवास पुगेका हुन्। भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ ।
भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा तथा जलस्रोतमन्त्री शक्ति बस्नेत, परराष्ट्रसचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम सल्लाहकार सहभागी छन्। भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डल पनि सहभागी छ।
कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो। कतारका अमिरको भ्रमणका अवसरमा सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
यसपछि कतारी राजा सोल्टी होटलमा जाने तालिका छ। होटलमा कतारका अमिरको सम्मानमा राष्ट्रपति पौडेलले मंगलबार रात्रिभोज आयोजना गर्दैछन्।





