बर्दिबास- महोत्तरीमा सोमबार मध्याह्न गोली चलेको छ। गौशाला नगरपालिका–४ स्थित मल्हनीया पोखरीगाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सुरक्षाकर्मीले ९ राउन्ड हवाई फायर गरेको हो।
सशस्त्रका एसपी लेखनाथ खनालले स्थिति नियन्त्रणमा लिन १३ सेल अश्रुग्यास पनि प्रहार गरेको जानकारी दिएका छन्।
प्रदर्शनकारीले बाँसको भाटा प्रहार गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन हवाइ फायर गरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। प्रदर्शनकारीको प्रहारबाट सशस्त्र र नेपाल प्रहरीका निरीक्षकद्वय शंकर थापा र मनोज यादव घाइते भएका छन्। सशस्त्र र नेपाल प्रहरीका आठ जना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जानकारी दिएको छ। झडपमा प्रदर्शनकारीतर्फका तीन जना सामान्य घाइते भएका छन्।
मलहनीया पोखरीगाउँकी २५ वर्षीया आरतीदेवीको गत शुक्रवार राति विष सेवनका कारण मृत्यु भएको बताइएको थियो। तर छिमेकी गाउँलेले भने आरतीलाई श्रीमान उमेश साह, नन्द आशा र सासू र जेठाजुले यातना दिई हत्या गरेको आरोप लगाउँदै आएका छन्।
प्रहरीले आरतीको मृत्यु लगत्तै उमेशलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ। आरतीकी सासु, नन्द र जेठाजुलाई समेत पक्राउ अनुसन्धान माग गर्दै प्रदर्शन गरिएको हो। आक्रोशित भिडले भाटा प्रहार गर्दै उमेशको घरमा तोडफोड गर्न खोजेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाइ फायर गरेको थियो।
प्रदर्शनका कारण माईस्था-गौशाला-समसी सडक केहीबेर अवरुद्ध भएको थियो।
घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ।


