काठमाडौँ– शुक्रबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठक सुरु हुने बित्तिकै सभामुख देवराज घिमिरेले गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति रवि लामिछानेलाई बोल्न समय दिए।
सभामुखले समय दिएको घोषणा गर्न नपाउँदै कांग्रेसका सांसदहरूले यसको अन्दाज गरिसकेका थिए। उनीहरूले लामिछानेलाई बोल्नका लागि समय दिएको घोषणा गरिरहेको समयमा आफ्नो आसन छोडेर रोस्टम घेराउ गर्न लागे।
लामिछाने उठेर कुर्सिबाहिर निस्कँदानिस्कँदै कांग्रेसका केही सांसदहरूले दगुरेर रोस्टम जाने बाटो छेकिहाले। यसपछि अरु सांसद पनि धुरिए। लामिछानेले रोस्टम चढ्ने बाटो पाएनन्।
बाटो नपाएपछि लामिछाने केही पछि हटे। सभामुखले समय दिएको घोषणा गर्दा हसमुख देखिएका लामिछाने कांग्रेस सांसदले बाटो छेकेपछि निराश भए।
उता कांग्रेसका सांसदहरूले नाराबाजी गरिरहे। सभामुखले पनि उनलाई बस्न भनेनन्। लामिछाने हातमा एक फाइल बोकेर उभिइरहे। कांग्रेसका सांसदहरूले गरेको विरोध हेरिरहे।
यसबीचमा सभाखुले कांग्रेसका सांसदहरूलाई आसनमा फर्कन आग्रह गरे। तर कांग्रेस सांसदले नाराबाजी चर्काउन रोकेनन्। गृहमन्त्रीलाई बोल्नका लागि समय दिन उनले आग्रह गरे।
८ मिनेटसम्म उभिएर कांग्रेसका सांसदले आफूविरुद्ध गरेको नाराबाजी हेरेपछि सभामुखले उनलाई आसन ग्रहण गर्न भने। त्यसपछि मात्र रवि बसे।
कांग्रेसको विरोध नरोकिएपछि जेठ १ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।





















