काठमाडौँ- सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषयमा विभिन्न राजनीतिक दलका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन्।
सत्ता पक्षका सांसदहरुले कार्यक्रमको बचाउ गर्दै सकारात्मक र रुपान्तरणकारी भएको प्रतिक्रिया दिएका छ भने प्रतिपक्षी दलका नेताले परम्परगत र आशालाग्दो नभएको टिप्पणी गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता माधव सापकोटाले नीति तथा कार्यक्रम समग्रमा राम्रो भएको बताए। उनले भने, ‘अहिलेको राजनीतिक परिस्थिति र दलहरुबीचको सम्बन्धलगायत समग्र दृष्टिमा उत्साहजनक छ, कार्यान्वयन गर्नेमा जोड दिनुपर्छ।’
स्वरोजगारका क्षेत्र र युवा पुस्तालाई आशावादी तुल्याउने देखिएको उल्लेख गदैँ सांसद सापकोटाले नीति तथा कार्यक्रमले समग्रमा सबै पक्षलाई समेटेको प्रतिक्रिया दिए। ‘नीति तथा कार्यक्रम अनुसारको बजेट र त्यसलाई कार्यान्वयन गर्ने सरकारको इच्छाशक्ति मुख्य विषय हो। छलफललाई त्यसमा केन्द्रित गर्नुपर्छ’, उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम बजेटसँग तादाम्यता हुने गरी सबै क्षेत्रलाई समेटेर ल्याएको बताए। ‘यसपटक ठूला विषय नराखी क्रमिक सुधार हुने गरी ल्याइएको छ। दर्जनौँ क्रमिक सुधारका विषय राखिएका छन्, बजेटसँग यसको सम्बन्ध जोडिने सम्भावना ह्वात्तै बढ्यो। अहिले विचारका रुपमा आयो, बजेटसँगै कार्यान्वयनमा आउँछ’, उनले भने।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले नियमितरुपमा प्रत्येक वर्ष नीति तथा कार्यक्रम पेस गर्नुपर्ने भएकाले सदनमा पेस गरिएको प्रतिक्रिया दिए। उनले भने, ‘नीति कार्यक्रम जनतालाई उत्साह दिने र वर्तमान राजनीति अवस्थालाई सम्बोधन गर्नेखाले छैन।’
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा बहुदलीय व्यवस्था आएको ३४ वर्षसम्म उस्तै किसिमका विषयवस्तु समेटेर नीति तथा कार्यक्रम आएको प्रतिक्रिया दिए।
‘तुर्जमा भएका नीति तथा कार्यक्रम २० प्रतिशत मात्रै कार्यान्वयन भएको भए मुलुकको समृद्धिले फड्को मारिसक्थ्यो’, उनले भने। नीति तथा कार्यक्रम कार्यन्वयनमा प्रतिबद्ध हुनुपर्नेमा भण्डारीले जोड दिए।


