जलेश्वर -महोत्तरी)- महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज एक कार चालकलाई पक्राउ गरेको छ।
सर्लाही जिल्ला पर्सा गाउँपालिका-१ का २० वर्षीय चन्दन यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवारले बताए।
बीआर ३० एएच २३८८ नम्बरको सेतो रङ्गको कारको डिक्कीमा गाँजा राखी बर्दिवास हुँदै सदरमुकाम जलेश्वरतिर आउँदै गर्दा औरही नगरपालिका-८ स्थित टिम्कियामा प्रहरीले पक्राउ गरेको हो। प्रहरीलाई शङ्का लागि कार रोकेर जाँच गर्दा कारको डिक्कीभित्र २० वटा पोकामा एक सय सात किलो चार सय ८५ ग्राम लागुऔषध गाँजा लुकाइ राखेको अवस्थामा बरामद गरिएको थियो।
बरामद गाँजालाई चालकसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि आजै महोत्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।


