तम्घास- गुल्मीमा जडीबुटी उद्यानमा आगो लगाउने एक जना पक्राउ परेका छन्। इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला वन अधिकृत जीवन पङ्गेनीले जानकारी दिए।
वैशाख १० गते जडीबुटी उद्यानमा आगो लगाएको प्रमाणित भएपछि पक्राउ गरिएको पङ्गेनीको भनाइ छ। पक्राउ परेका बस्नेतविरुद्ध अनुसन्धान गर्न गुल्मी जिल्ला अदालतबाट ७ दिनको म्याद लिइएको छ।
वन वातावरण संरक्षणजस्तो संवेदनशील विषयमा दोषीलाई कारबाही गर्न सहयोग गर्नुपर्नेमा राजनीतिक दलका स्थानीय प्रतिनिधिले वन मुद्दाको अनुसन्धान कार्यमा बाधा पुर्याउन खोजेको अधिकृत पङ्गेनीको आरोप छ।
लुम्बिनी प्रदेश सरकार र डिभिजन वन कार्यालय गुल्मीको एक करोडभन्दा बढी लगानीमा जडीबुटी उद्यान निर्माण गरिएको थियो। आगलागीबाट उद्यानका एक सयभन्दा बढी विभिन्न प्रजातिका बहुमूल्य जडीबुटी आगलागीबाट जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ। आधा हेक्टर वन क्षेत्रमा आगलागी भएको थियो।
वन ऐन, २०७६ अनुसार वन क्षेत्रमा आगजनी गर्ने व्यक्तिलाई ६० हजार जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने प्रावधान छ।


