मुगु- मुगुका सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापक (प्रअ) ले आफ्नो पेशागत हकहित र संरक्षणका लागि प्रधानाध्यापक सङ्घ गठन गरेका छन्।
आज सदरमुकाम गमगढीस्थित महाकाली नमूना माध्यमिक विद्यालयमा भेला आयोजना गरी जिल्लाभरिका सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापक सङ्गठित भएका हुन्।
भेलाले महाकाली माध्यमिक विधालयका प्रअ खडकबहादुर रोकायाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति गठन गरेको छ।
समितिको उपाध्यक्षमा बिर्खबहादुर बढुवाल, सचिवमा सुवास रावल, कोषाध्यक्षमा रञ्जिता कर्ण मल्लिक, सहसचिवमा नरेश शाहीसहित २५ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत निर्वाचित भएको अध्यक्ष खड्कबहादुर रोकायाले बताए।
भेलाले जिल्लाका चार पालिकामा पनि पालिकास्तरीय समिति गठनका लागि संयोजक तोकेको छ। जसअनुसार सोरु गाउँपालिकाको लागि राजबहादुर मल्ल, खत्याड गाउँपालिकाको लागि टङ्क संज्याल, मुगुम कार्मारोङ्ग गाउँपालिकाका लागि लग्नसिङ्ग सेजुवाल र छायानाथ रारा नगरपालिकाको लागि चन्द्रप्रकाश बढुवाल संयोजक रहेका छन्।
जिल्ला समन्वय समितिका प्रमुख मञ्जनबहादुर कार्किले प्रधानाध्यापक सङ्गठित भएपछि शिक्षक हक, अधिकारका साथै गुणस्तरी शिक्षण सिकाइ, पेशागत दक्षता र सामुदायिक शिक्षाको अवस्था सुधार्न योगदान पुग्ने विश्वास व्यक्त गरे।
प्रधानाध्यापकहरुको प्रतिनिधित्व गर्दै भेलालाइ सम्बोधन गर्नुभएका जनज्योति माध्यमिक विद्यालय धुपी सोरु गाउँपालिकाका प्रधानाध्यापक सुवास रावलले सङघले गैरराजनीति चरित्रलाई व्यवहारमा उतार्नुपर्ने बताए।


