काठमाडौँ- कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधि जितेको छ।
गएराति भएको फाइनल खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको छ।
कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो।
११४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।
कोलकाताको जितमा वेंकटेश ऐरले २६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनमा नट आउट रहे। रहमानउल्लाह गुरबाज ३२ बलमा ५ चौका र २ छक्कासहित ३९, सुनिल नारायण र श्रेय ऐरले ६-६ रन बनाए।
हैदराबादका शहबाज अहमद र प्याट कमिन्सले एक/एक विकेट लिए।
त्यसअघि चेन्नेइको घरेलु मैदान चेपौकमा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबाद १८.३ ओभरमा ११३ रनमा अल आउट भएको थियो।
हैदराबादका प्याट कमिन्सले १९ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २४ रन बनाए। एडेन माक्ररम २०, नितेश कुमार रेड्डी १३ र हेनरिक क्लासेनले १६ रन बनाए।
कोलकाताका आन्द्रे रसेलले २.३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। मिचेल स्टार्क र हर्षित रानाले दुई/दुई विकेट लिए। वैभव आरोरा, सुनिल नारायण र बरुण चक्रवर्तीले एक/एक विकेट लिए।


