काठमाडौं – युक्रेनलाई हमला गरेको कारण केही प्रतियोगिताबाट बाहिर राखिँदै आएको रसियाले अब आफ्नै प्रकारको खेलकुदको विकास गर्ने भएको छ। उसले शारीरिक र डिजिटल खेललाई मिलाएर रुसको कजानमा आगामी वर्ष फिजिटल खेलकुद आयोजना गर्ने भएको हो।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रसियन एम्बेसीले यो खेलुकदबारे जानकारी दिएको हो। उसले अब आउँदो सन् २०२४ मा फुटबल, हकी र बास्केटबलको खेलको प्रतियोगिता गर्ने भएको हो। यसमा आधा खेल डिजिटल हुनेछ भने बाँकी शारीरिक रुपमा खेल्नुपर्ने आयोजकले बताएको छ। त्यस्तै पब्जी, फ्रिफायर, डोटा र लिग अफ लेजेन्डजस्ता डिजिटल गेमिङका प्रतियोगिता पनि आयोजना हुने भएको हो।
नेपालस्थित रसिया एम्बेसीका मिडिया संयोजक अलेक्जेन्डर इभासेभका अनुसार यो प्रतियोगिता सरकारकै मूख्य सहयोगमा आयोजना हुन लागेको हो। ‘यो सरकारकै सहयोगमा हुन लागेको प्रतियोगिता हो। यसमा सहभागी बन्न चहानेले कुनै खर्च बेहोर्नु पर्दैन। आयोजकले नै बेहोर्ने भएको छ,’ उनले भने।
यो प्रतियोगिताको कुल पुरस्कार राशि भने २५ मिलियन अमेरिकी डलर राखिएको छ। यो पुरस्कार रकम विभिन्न खेलका विजेतालाई बाँडेर दिइने आयोजकले जानकारी दिएको हो। फुटबल, बास्केटबल, हक्की र दौड प्रतिस्पर्धामा प्रत्येक खेलमा पुरस्कार राशी १० लाख डलर समावेश छ । यस्तै, डोटा दुई र लिग अफ लिजेन्ड्स जस्ता ई–स्पोट्र्स खेलहरूमा प्रत्येक खेलमा ३० लाख डलरको पुरस्कार राशी छ ।
‘हामीले फाइनल प्रतियोगितामा २०० सहभागी टिमको अपेक्षा गरेका छौं। त्यस्तै, हामीले टेस्ट प्रतियोगिता पनि गर्नेछौं टेस्टमा छानिने टिमले मात्र फाइनल प्रतिस्पर्धामा सहभागीता जनाउने पाउने छ। टेस्टमा चाहीँ २०५६ क्लबले सहभागीता जनाउने अनुमान गरिएको छ,’ अलेक्जेन्डरले भने। छनोट प्रतियोगितामा सहभागी हुनका लागि ‘फिजिटल गेम अफ फ्युचर’ को वेबसाइटमार्फत आवेदन दिन सकिने छ।
प्रतियोगितामा चीन, कम्बोडिया, बेलारुसलगायतका देशले सहभागीता जनाउने छन्। तर यो प्रतियोगिताकोमा सहभागी खेलसँग मिल्ने गरिको प्रशिक्षक भने नेपालमा छैनन। यसकारण आयोजले त्यसको लागि ट्रेनिङको पनि व्यवस्था गर्ने जानकारी दिएको छ। त्यस्तै नेपालको सर्वाधिक टिमको सहभागिताको अपेक्षा भएको रसियन एम्बेस्सीले बताएको छ।


