पाँचथर- नेपाल पत्रकार महासंघका पूर्व सभापति डा. सुरेश आचार्य पाँचथरमा स्वतन्त्रता सेनानी सम्मानबाट सम्मानित भएका छन्।
नेपाल पत्रकार महासंघ पाँचथर शाखामा स्थापित उक्त पुरस्कार आज गणतन्त्र दिवसको अवसर पारेर फिदिममा एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको हो।
शाखाले मंगलबार आयोजना गरेको मिडिया सम्मेलन तथा पुरस्कार वितरण कार्यक्रममा पूर्वसभापति डा। आचार्यलाई सम्मानपत्र, दोसल्ला र नगदबाट सम्मानित गरिएको हो।
कोशी प्रदेशसभा सदस्य मैया श्रेष्ठ लावती, शाखाका अध्यक्ष गिरिराज बाँस्कोटालगायतले आचार्यलाई सम्मान गरेका थिए। प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताका लागि विशिष्ट योगदान पुर्याउने पत्रकारलाई पुरस्कृत गरिँदै आएको उक्त पुरस्कारको राशी ३३ हजार रुपैयाँ छ।

गणतन्त्र दिवसको अवसर पारेर उक्त सम्मान वितरण हुँदै आएको शाखा अध्यक्ष बाँस्कोटाले जानकारी दिए। उक्त पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा अध्यक्षहरू हरिहर बिरही, किशोर नेपाल, धर्मेन्द्र झा, डा. महेन्द्र बिष्ट, शिव गाउँलेलगायत पुरस्कृत भइसकेका छन्।
सोही कार्यक्रममा फिदिम नगरपालिकाद्वारा स्थापित २५ हजार राशीको फिदिम नगर पत्रकारिता पुरस्कारबाट पत्रकार खविन लुइटेल पुरस्कृत भए। यस्तै, शाखामा स्थापित १० हजार रुपैयाँ राशीको हरिचरण–भद्रमाया वातावरण पत्रकारिता पुरस्कारबाट पत्रकार दुर्गा खनाल र फिदिम स्पोर्टिङ क्लबले शाखामार्फत वितरण गर्ने १० हजार राशीको प्रजापति–जलपादेवी खेलकुद पत्रकारिता पुरस्कारबाट पत्रकार विनोदकुमार सुब्बा (सन्देश) पुरस्कृत भए।

सम्मान तथा पुरस्कार वितरणपछि मिडिया सम्मेलन समेत सम्पन्न भएको छ। पाँचथरसहित आसपासको जिल्लाका पत्रकारसमेत सहभागी कार्यक्रममा मोफसलको पत्रकारिताका विषयमा ताप्लेजुङका आनन्द गौतम, सप्तरीका ललिता शाह र दैलेखका विशाल सदाशंकरले आफ्ना अनुभव तथा धारणा राखेका थिए। उक्त छलफललाई झापाका पत्रकार केशव भट्टराईले सहजिकरण गरे।
यस्तै अबको पत्रकारिता शीर्षकमा पत्रकारद्वय दिलभुषण पाठक र कमलदेव भट्टराईले धारणा राखे। उक्त छलफलको सहजिकरण इलामका पत्रकार सटेन्द्र जबेगूले गरेका थि । मिडिया सम्मेलनमा पत्रकार अरुण बरालले ‘कि नोट स्पिकर’ का रूपमा पत्रकारिता क्षेत्रका समस्या राखेका थिए। उक्त सम्मेलनकै अवसरमा शाखाले प्रकाशन गरेको पत्रकारिता नामक पुस्तकसमेत विमोचन गरिएको थियो। पत्रकारिताका विषयमा गहन छलफलमा सहभागी हुन पाएको भन्दै जिल्लाका पत्रकारले खुशी ब्यक्त गरेका छन्।







