काठमाडौँ- सडक विभागले काठमाडौँ महानगरपालिकालाई चेतावनी पूर्ण पत्र काटेको छ। विभागले विभिन्न समयमा पत्र काटेको अवगत गराउँदै पुनः पत्र काटेर सार्वजनिक सडक ऐन २०३१ को बर्खिलाप भएको भन्दै कारवाहीको चेतावनी दिएको हो।
बुधबार काठमाडौँ महानगरलाई पत्र लेख्दै सडक विभागअन्तर्गतको सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँले भत्काइएको सडक खण्ड २ दिनभित्र पुनर्स्थापना गर्न अनुरोध गरेको छ।
यसअघि मेयर शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाउने घोषणा गर्दै सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँको गेटमा एक ट्रक धुलो फ्याँकेका थिए। त्यसपछि सडक विभागले जथाभाबी सडक काट्न रोकेपछि बालेनले अराजक व्यवहार देखाएको प्रतिक्रिया दिएको थियो।
बुधबार महानगरलाई पठाएको कार्यालयको पत्रमा भनिएको छ, ‘मिति २०८१ जेठ ३ को पत्रमार्फत पनि यस कार्यालयको कार्यक्षेत्र भित्र सहमति विना कुनै पनि काम नगर्न नगराउनु हुन भनी अनुरोध गरिएतापनि मिति २०८१ वैशाख १२ मा विना सहमति न्यूरोडस्थित जुद्ध सालिक इन्द्रचोक सडक खण्डमा त्यहाँबाट सडक खन्ने तथा भत्काउने काम भएको र उक्त कार्य सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को बर्खिलाप हुने कार्य भएको देखिएकोले सो कार्य तुरुन्त रोकी सडक यथास्थितिमा पुनर्स्थापना गरिदिनु हुन भनी मिति २०८१ जेठ १३ मा पुनः अनुरोध भएकोमा हालसम्म पनि पुनर्स्थापना भएको देखिएन।’



